--------------------------------------------------------------------
‘समाजवादी संस्कृति निर्माणको निम्ति हाम्रो अभियान
समग्र जनसांस्कृतिक रुपान्तरणको पक्षमा आठौं राष्ट्रिय सम्मेलन’ ! !
जनसांस्कृतिक महासङ्घ, नेपालको यो ऐतिहासिक आठौं राष्ट्रिय सम्मेलनमा उपस्थित सम्माननीय प्रमुख अतिथि प्रधानमन्त्री प्रचण्डज्यू, आमन्त्रित विभिन्न जबस/मोर्चाका आमन्त्रित अतिथिहरु, सबै प्रदेशबाट आउनु भएका प्रतिनिधिहरु, पर्यवेक्षकहरु, सञ्चारकर्मीहरु, स्वयम् सेवकहरु लाल अभिवादन !
सर्वप्रथम म सर्वहारा वर्गको मुक्ति खातिर तथा न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न महान् जनयुद्धमा साँस्कृतिक क्षेत्रबाट जीवनको आहूति दिने साँस्कृतिक सहिदहरु कृष्ण सेन ‘इच्छुक’, रामवृक्ष यादव, मस्त विष्ट, च्याङ्वा लामा, चुनु गुरुङ, शारदा श्रेष्ठ, रोहित कोईराला, पुष्पराज चौधरी, हर्षबहादुर मल्ल, एकबहादुर बिक, शिव श्रेष्ठ, डीबी थापा, डीबी लामा, भोगट राय, विदूर भगत, उत्तिचन राय यादव, रामकृष्ण महतो लगायत दुई सयभन्दा बढी साँस्कृतिक सहिदहरुप्रति हार्दिक सम्मान र श्रद्धाञ्जली अर्पण गर्दछु । ढुङ्ला, विनायक(आछाम), अनेकोट(काभ्रे), गुम्चाल, भावाङ(रोल्पा), छेंडा, मुडभरा(डोटी) माझफाल(डोल्पा), बासीखोरा(भोजपुर) आदि ठाउँमा गितार र मादल बोकेका निःशस्त्र कलाकारहरुको सामूहिक हत्यामा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिद कलाकार तथा समस्त ज्ञात–अज्ञात सहिदहरुप्रति पनि हार्दिक सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्दै सहिदका सपना पूरा गर्न निरन्तर साँस्कृतिक आन्दोलनमा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दछु । त्यस्तै महान् जनयुद्धका घाइते, अपाङ्ग र बेपत्ता योद्धाहरुप्रति पनि सम्मान र श्रद्धा प्रकट गर्दछु ।
इतिहासको संक्षिप्त समीक्षा :
नेपाली संस्कृति प्राचीन, सघन र गौरवमय रहेको छ । नेपाल देशको प्राक्इतिहास पनि धेरै पुरानो छ । त्यही इतिहासमा टेकेर नेपाली सँस्कृतिको निर्माण भएको छ । हिमवत्खण्ड पुराण, (अ.७२ श्लोक ६४) ब्रह्मवैवर्त पुराण, शिव पुराण (अ.२२ श्लोक १), गण्डकी महात्म्य (अ.५ श्लोक ६२), कौटिल्यको अर्थशास्त्र, (ई.पू.४००, कृष्णा भिङ्गिसी वर्षवारणमपसारकः इति नैपालकम्) (कौ.अ.११, प्रकरण २९), महाभारत (किराँत सेना महाभारत युद्धमा सहभागी हुनु, किराँतेश्वर, किराँतार्जुन, पाशुपतास्त्र जस्ता शब्दहरुको उल्लेख नेपालका सन्दर्भमा), अथर्वपरिशिष्ट, बौद्धग्रन्थहरु मूलसर्वास्तिवाद र विनयसुत्त आदिमा ‘नेपाल नाम’ उल्लेखित हुनुले यसको प्राचीनता स्पष्ट छ ।
प्रामाणिक हिसाबले विसं. १०३८को आजसम्म प्राप्त सर्वप्राचीन राजा दामुपालको दुल्लु (दैलेख)को शिलालेखमा पहिलो पटक नेपाली भाषा प्रयोग भएको छ । यहींबाट नेपाली वाङ्मयको इतिहास प्रारम्भ हुन्छ । साहित्यमा वीररस प्रधान (पुगी आज गङ्गा पखाल्नु छ खाँडो–सुवानन्द दास) कविता रचनाबाट सुरु भएको साहित्य लेखन लगभग तीनसय वर्ष पुरानो छ । त्यसो त मौखिक साहित्य र लोकगीतको परम्परा जसमा चैत, भारत आदि पर्छन्, हजार वर्ष पुरानो रहेको मान्न सकिन्छ ।
नेपालको सीमाना आर्यावर्तको एक देशका रुपमा पूर्वमा ब्रह्मपुत्रदेखि पश्चिममा सतलजसम्म, पूर्व कामाख्यादेखि पश्चिम लद्दाख –कस्मीरको श्रीनगर)सम्म, हिमालदेखि गङ्गासम्म कुनै समयमा फैलिएर रहेको पाइन्छ भने पछि नेपालमण्डलका रुपमा पनि विशाल नेपाल विद्यमान रहेको थियो । यही विस्तृत भूमिमा फैलिएका जनसमूदायमा विविध भाषा, सँस्कृति, दर्शन, धर्म, पोशाक, खाना–गाना, पण्यशाला, गृहरचनाको विविधता रहेको थियो । जसलाई हामी नेपाली संस्कृति भन्छौं । नेपाली संस्कृति वीरता, स्वाभिमान, स्वतन्त्रता र अपराधीनताको सँस्कृति हो ।
साहित्यमा पृथ्वीनारायण शाहको राज्यविस्तारसँगै वीर साहित्यको जन्म भयो भने पछि राणातन्त्रको भोगविलासपूर्ण समयमा श्रृङ्गार रस प्रधान (मोतीराम भट्टका रचना र सूक्तिसिन्धु आदिमा) र सुगौली सन्धीको अभिशप्त प्रक्रियापछि भक्तिरस प्रधान साहित्य जन्मियो । त्यही भक्तिरस प्रधान साहित्यको जोशमनी सन्त परम्परामा, सधुक्कडी नेपाली भाषामा लेखिएका साहित्यमा भने सामाजिक सुधारको भावना र देशप्रेमको भावना पाइन्छ । सन्त ज्ञान दिलदास, अगम दिलदास, अखड दिलदास, प्रेम दिलदासहरुका सन्तपरम्परामा महिला समानता, अन्धविश्वास र रुढिवादको विरोध, कर्मकाण्डी सँस्कारको विरोध, समाज सेवाको सन्देश, सुधारवादको पक्षपोषण, भक्तिकै माध्यमबाट दिइएको छ ।
भक्तिरसका साहित्यले स्तुतिगान, भक्तिभाव, आध्यात्मिक चेतका माध्यमबाट ब्राह्मणवाद, पुरोहितवाद, भाग्यवाद, कर्मकाण्डी प्रवृत्ति तथा सामन्तवाद र सामन्ती सँस्कृतिको मलजल गरेका छन् । जसमा आदिकवि भानुभक्त आचार्य लगायत भक्ति परम्पराका कविले केही राजकीय विकृतिमाथि व्यङ्ग्य गरे पनि मूलतः सामन्तवाद र अध्यात्मवादकै पक्षपोषण गरेका छन् । राणा शासकहरुको अत्याचार, भोग–विलास, शोषण, थिंचोमिचो, निरङ्कुश शैली आदिका विरुद्ध भक्तिकालीन साहित्यले विरोधको स्वर निकाल्न सकेन । बरु प्रशंसा र स्तुतिगानमा रमायो ।
पहिलोपटक मकैको खेती लेखेर कृष्णलाल अधिकारीले ‘विदेशी नोकर भन्दा स्वदेशी कुकुर नै जाती’, र ‘खेतीमा लाग्ने कीरा’का रुपमा राणा शासन र उनको अङ्ग्रेज भक्तिमाथि व्यङ्ग्य गरे । यसबापत उनलाई जेल हालियो र त्यहीं रोगले थलिएर उनको मृत्यु भयो । त्यसै समयको तिलस्मी उपन्यास ‘वीरचरित्र’ले पनि राणाहरुको शासकीय चरित्रमाथि प्रहार गरेको छ ।
त्यसपछि राणा शासन विरुद्ध सामाजिक जागरणको साँस्कृतिक चेतनाको युग आरम्भ हुन्छ । यस धारालाई धरणीधर कोईराला, महानन्द सापकोटा, सूर्यबिक्रम ज्ञवाली, पारसमणि प्रधान आदिले ‘जाग जाग अब जाग न जाग’को आह्वान तथा जनतालाई ‘घोर नींद अब ता परित्याग’ भन्दै राणातन्त्र विरुद्ध ब्युझिंन आह्वान गरे । सन् १९१७ को रुसीक्रान्तिको आभा र रापको विश्वव्यापी प्रभाव, सन् १९४७ को भारतीय स्वतन्त्रता आन्दोलन, सन् १९४९ को चीनियाँ माओवादी क्रान्तिको असर विस्तार हँुदै नेपालमा पनि पैदा भएको विद्रोही प्रभावले विसं १९९७ को सहिद काण्ड भयो । यसै समयमा विदेशमा नै रहेर नेपालीहरुले भारतीय स्वतन्त्रता संग्राममा भाग लिंदै नेपालमा पनि प्रजातन्त्रको लागि संघर्ष गर्न तयारी गर्न थाले । चेतना विस्तार गरे । सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटाहरुले क्रान्तिकारी विद्रोहको पक्षमा साहित्य रचना गरे र सोही क्रममा सिद्धिचरण श्रेष्ठलाई जेल हालियो । यसअघि नै लक्ष्मीप्रसाद देवकोटा लगायत १७ भाइले पुस्तकालय विसं १९८९ सालमा स्थापना गर्दा ‘राणाको गाथ–गादी ताकेको’ आरोपमा तीमध्ये कतिपयलाई जेल हालिएको थियो । गोपालप्रसाद रिमालले विसं २००० मा प्रगतिशील कविताको लेखन सुरु गरे । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना, २००७ सालको राजनैतिक घटना, २००९ सालमा प्रगतिशील लेखक सङ्घको गठन हुँदै रुकुममा २००९मा कामी बुढाले र डोटीमा २०१०मा भीमदत्त पन्तले विद्रोहको सुरुवात गरे । पूर्वमा रामप्रसाद राई र पश्चिममा के.आई. सिंहका विद्रोह पनि स्मरणीय छन् । ‘कि जोत हलो कि छोड थलो हैन भने छैन तेरो भलो’ जस्ता नाराबाट किसानका संघर्षहरुको पनि विभिन्न जिल्लाबाट सुरुवात भयो । ‘रे नहीं जी कहू’,‘मोछ उखार बखारी फोर’ जस्ता नारा लिएर धनुषा, रौतहट, पर्सा, बारामा किसान आन्दोलन भए । त्यसै गरी जुगेडी, जुटपानी, (चितवन) खनियाबास,(धादिङ) बेलुवा–बञ्जाडी, कर्जाही,(दाङ) बर्दिया आदि ठाउँमा भएका किसान संघर्षले निरङ्कुशता, तानाशाही, दमन, शोषण, अन्याय र वर्र्गीय असमानताका विरुद्ध विद्रोहका आवाज घन्काए । यिनै विद्रोहमा गुम्रा थारु र कोइलीदेवी थरुनीहरु सहिद भए । यी र यस्तै पृष्ठभूमि, प्रेरणा र प्रभावमा साहित्यमा प्रगतिवादी आन्दोलन आविर्भाव भएको थियो । रिमालले शुरु गरेको यो धारामा २००९ पछि श्यामप्रसाद शर्मा, केवलपुरे किसान, हृदयचन्द्रसिंह प्रधान, भूपि शेरचन, कृष्णचन्द्रसिंह प्रधान आदि साहित्यकार जोडिन आइपुगे । सेवा(२००८) जनसाहित्य(२००९) जस्ता पत्रिका र नयाँ झ्याउरे (२०१२), जस्ता कविता र निर्झर(भूमिका) जस्ता चिन्तनपरक कृतिले पनि यो धारालाई अघि बढाउन योगदान पु¥याए । २०१७ सालको राजाको ‘कू’पछि २०२१सम्म पनि केही सशस्त्र आन्दोलनका घटनाहरु घटिरहे । विराटनगर बमकाण्ड त्यसकै उदाहरण हो ।
चीनियाँ जनक्रान्तिको प्रभावमा नक्सलवाडीमा चारुमजुमदारले सशस्त्र विद्रोह सुरु गरे र नक्सलवाडी आन्दोलनको प्रभावमा २०२८ सालमा नेपालमा सशस्त्र झापा विद्रोह भयो । झापा विद्रोह वीचमै दमनमा परी समाप्त भयो । यद्यपि यो उग्रवादी, अन्धनक्कल, संकीर्ण, यान्त्रिक र अतिवादी आवेगको परिणाम थियो । जुन कमजोरीका कारण नै सत्तालाई चाँडै दमन गर्न सम्भव भयो । तापनि यसको असर विविध क्षेत्रमा पर्ने नै भयो । राजनीतिमा २०३५ सालमा त्यसैको जगमा नेकपा(माले)को गठन भयो भने २०२८ सालमै केन्द्रीय न्युक्लियसका नाममा नेकपा (चौम)को आधार तयार भइसकेको थियो र पछि नेकपा(चौम) गठन भयो । चौमको धार क्रान्तिकारी धारका रुपमा विकसित हुँदै गयो । यस्तो विभाजनका पछाडि चीन र रुसका जनवादी र समाजवादी क्रान्तिका धारले प्रभावित पारेका थिए । सांस्कृतिक क्षेत्रमा बुद्धिबहादुर थकालीले रेलीमाई सांस्कृतिक परिवार (२०२८) गठन गरेर त्यसको जग बसाले । २०३० को चरणमा संकल्प परिवार र वेदना परिवारले राष्ट्रिय स्तरमै जनवादी सांस्कृतिक आन्दोलनलाई अघि बढाउने काम गरे भने साहित्यिक रुपमा छरिएका साहित्यिक प्रतिभा मिलेर अखिल नेपाल राष्ट्रिय जनसांस्कृतिक सङ्घ, साहित्यकार पारिजातको नेतृत्वमा सुवाश श्रेष्ठ सचिव र शक्ति लम्साल , डि. आर. पोखरेल , नारायण शर्मा सदस्य रहेको २०३८ साल माघ २८ गते गठन गरी निरङ्कुश राज्यसत्ताका विरुद्ध आन्दोलित हुन थाल्यो । यद्यपि पुष्पलालले २०२८ मै युद्धप्रसाद मिश्रको नेतृत्वमा जनवादी सांस्कृतिक सङ्घ पनि गठन गरिसकेका थिए । तीसकै दशकमा वेदना परिवार र सङ्कल्प परिवार गठन भएर कलाक्षेत्रबाट हस्तक्षेप गरे भने तिनैले वेदना र सङ्कल्प साहित्यिक पत्रिका पनि प्रकाशित गरे । तीसकै दशकको अन्ततिर बुटवलबाट अगुल्टो र चितवनबाट पाख्रिनको साँस्कृतिक परिवार परिचालित भए । पाख्रिनको आँसुको भाका, गीतिसङग्रहका तीन संस्करण ०३८, ०४२ र ०४६ मा प्रकाशित भए । प्रगतिशील लेखक कलाकार संघले पनि आफ्नो ठाउँबाट संयुक्त रुपमा सांस्कृतिक गतिविधिलाई जारी राखिरहेको कुरा पनि बिर्सिनु हुन्न । २०३९ मा गएर यसको नाम प्रगतिशील लेखक संघमा फेरियो । यसले प्रलेस पत्रिका पनि प्रकाशन गर्न थाल्यो । यसै समयमा मधेशमा रामवृक्ष यादव र पुलकित ठाकुरहरुले पनि गीत, संगीत गायन, लेखन गर्दै प्रगतिशील आन्दोलनलाई मधेशमा विस्तार गर्दै थिए । यसकालमा जनवादी विवाह, प्रगतिशील विवाहहरु मार्फत प्रगतिशील संस्कृतिको विकास हुँदै थियो । अर्कातर्फ जीवन शर्माको नेतृत्वमा रक्तिम सांस्कृतिक परिवारले पनि आफ्ना कार्यक्रमहरुबाट निरङ्कुशता विरुद्ध सांस्कृतिक हस्तक्षेप जारी राखेको थियो । यसै दशकमा नै राल्फा समूह गठन भई अस्तित्ववादी र विसङ्गतिवादी विचारबाट प्रभावित भई सांस्कृतिक गतिविधि गरिरहेको थियो जुन समूह ०३८/०३९ सालतिर मार्क्सवादी विचारबाट प्रभावित हुदै प्रगतिशील सांस्कृतिक आन्दोलनमा समाहित हुन पुग्यो । यसमा पारिजात, रायन, रामेश, निनु चापागाईं आदि कलाकार/साहित्यकार सामेल थिए ।
यसक्रममा क्रान्तिकारी कम्युनिष्ट धारमा फुट र विभाजन शुरु भयो । २०४० मा नेकपा(चौम) को र नेकपा(मशाल) को विभाजन तथा २०४१ मा नेकपा(मशाल) पनि नेकपा(मसाल) र नेकपा(मशाल)मा विभाजन भएपछि साँस्कृतिक आन्दोलनमा पनि विभाजन आई लामो समयसम्म यो कमजोर रहँदै गयो । रायनको नेतृत्वमा रहेको वेदना सांस्कृतिक परिवार , शम्भु अमात्य, बदन शर्माहरूको नेतृत्वमा रहेको जुनेली सांस्कृतिक परिवार , मान बहादुर दोङ्गको नेतृत्वमा रहेको थाङ्का सांस्कृतिक परिवार आदीको संयुक्त भेलाले २०४४ साल चैत्र २० मा गएर साहित्यकार - कलाकार संगठित भएर पारिजात र रायनको नेतृत्वमा इन्द्रेणी सांस्कृतिक समाजको गठन भयो । यसै समयमा लेखकीय प्रतिबद्धता कि स्वतन्त्रताको बहस पनि सुरु भयो । खगेन्द्र संग्रौला, आनन्ददेव भट्ट, रमेश विकल आदि स्वतन्त्रता र चैतन्य, निनु चापागाईं, शक्ति लम्साल, घनश्याम ढकाल, इस्माली, कृष्ण सेन इच्छुक, जगदीशचन्द्र भण्डारी, भाष्कर, दिल साहनीहरु प्रतिबद्धताको पक्षमा उँभिए । २०४१ सालदेखि २०४६ सालसम्म सांस्कृतिक परिवार, जनसांस्कृतिक संघ, प्रलेस, प्रतिभा प्रवाह, साहित्य सन्ध्या, नाट्यकर्मीहरुले आआफ्नो ठाउँबाट पञ्चायती निरङ्कुशताका विरुद्ध विभिन्न आन्दोलन, संघर्ष गर्दै, जेल, नेल, यातना भोग्दै सांस्कृतिक गतिविधि चलाई रहे ।
२०४६ सालको परिवर्तनपछि राजनीति दुई ध्रुवमा बाँडियो । एउटा यथास्थितिका पक्षमा र अर्को क्रान्तिको निरन्तरताको पक्षमा । क्रान्तिलाई निरन्तर जारी राख्ने उद्देश्य भएका पार्टीहरुवीच २०४८ सालमा एकता भई नेकपा(एकता केन्द्र) बनेपछि सांस्कृतिक क्षेत्रमा पनि ध्रुवीकरणको विकास भयो । फलतः २०४८ सालमा भएको सांस्कृतिककर्मीहरुको एक भेलाले कृष्ण सेन इच्छुकको नेतृत्वमा अखिल नेपाल जनसांस्कृतिक संघ गठन गर्यो । यसका सदस्यहरुमा शक्ति लम्साल, खुसीराम पाख्रिन, मणि थापा, ऋषिराज बराल, पूर्ण घर्ती, घनश्याम ढकाल, अमर गिरी, आहुति, घनश्याम शर्मा पौड्याल, शारदारमण नेपाल, ताराकान्त पाण्डेय, ईश्वरचन्द्र ज्ञवाली, गोपीन्द्र पौडेल, नवीन राई समेतको एक केन्द्रीय संयोजन समितिको निर्माण भयो । यसैक्रममा २०४८ फागुन महिनामा सामना सांस्कृतिक परिवार मणि थापाको नेतृत्वमा गठन भयो । यसका सदस्यहरुमा चुनु गुरुङ, धु्रव ज्ञवाली, अञ्जना गुरुङ, कन्हैया सिंह परियार लगायत थिए । सामनाले जनताका भाकाहरु भाग–१, आँधी आउँदैछ हुरी चल्दैछ, जलजला, अभिवादन जस्ता गीति क्यासेट प्रकाशित गर्यो । साहित्यिक पत्रिकामा कलम साहित्यिक त्रैमासिक प्रकाशन हुन थाल्यो भने वेदनाले पनि निरन्तरता दिइरह्यो । २०४९ सालमा खुसीराम पाख्रिनको नेतृत्वमा सामना परिवारको पुनर्गठन र विस्तार गर्दै मणि थापा, धु्रव ज्ञवाली, चुनु गुरुङ्, अञ्जना गुरुङ, धनकाजी गुरुङ, पूर्ण घर्ती र कन्हैया सिंह परियार रहेको सामना परिवारले पूर्णता पायो । प्रतिभा प्रवाह र कलायात्राले पनि साहित्यिक गतिविधिलाई निरन्तरता दिइरहे । २०४८देखि २०५२ सम्म विश्वास सांस्कृतिक परिवार(वाग्लुङ) जनवादी सांस्कृतिक संगम(कैलाली), जनवादी सांस्कृतिक मञ्च(वाँके), भ्याली सांस्कृतिक संगम(काठमाण्डौं), सूर्योदय नाट्य मञ्च (सूनाम), कञ्चनजङ्घा सांस्कृतिक परिवार (कञ्चनपुर) जस्ता परिवार र संस्थाहरुले क्रान्तिकारी धारालार्ई समृद्ध गर्दै जनवादी क्रान्तिको लागि संगठित संघर्ष गरिरहे ।
२०४७ मा एकता संयोजन समिति बनेर २०४८मा विभिन्न कम्यनिष्ट पार्टी मिलेर एकता केन्द्र बनेको थियो । जसले संयुक्त जनमोर्चा मार्फत संसदीय चुनावमा नौ सिट जित्दै तेस्रो शक्तिमा स्थपित भएको थियो त्यसमा सशस्त्र जनयुद्ध गर्ने कि जनविद्रोह गर्ने ? माओवाद मान्ने कि माओ विचारधारा नै मान्ने ? माओका प्रस्थापनाहरुलाई शास्वत प्रकृतिका मान्ने कि नमान्ने ? भन्ने जस्ता विवादले एकता केन्द्रमा विभाजन ल्यायो । फलतः विसं २०५२ मा नेकपा (एकता केन्द्र)मा फुट भयो र नेकपा(माओवादी) पार्टीको जन्म भयो । यसले २०५२ साल फागुन १ गते औपचारिक रुपमा जनयुद्धको घोषणा गरी वक्तव्य जारी गर्यो र सशस्त्र कारबाहीहरु सुरु गर्यो । सोही वैचारिक बाटोलाई पछ्याउँदै अखिल नेपाल जनसांस्कृतिक संघमा पनि फुट भयो र यसले पनि आफ्ना गतिविधि सञ्चालन गर्यो । भल्का अभियान, सिज अभियान, चुक साँस्कृतिक अभियान, प्रतिरोध घरदैलो कार्यक्रम आदि साङ्गीतिक अभियान चलाई जनयुद्धको पक्षमा जनताको व्यापक समर्थन प्राप्त र प्रचारप्रसार गर्यो । जनयुद्धका उद्देश्य, विचार, दृष्टिकोणलाई जनतासम्म पुर्याउन महत्वपूर्ण भूमिका पूरा गर्यो । सांस्कृतिक पाटोलाई अघि बढाउन अखिल नेपाल जनसांस्कृतिक संघको २०५५मा भक्तपुरको ठिमीमा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यसले कृष्ण सेन इच्छुकको अध्यक्षतामा घनश्याम ढकाल उपाध्यक्ष, मणि थापा महासचिव, खुसीराम पाख्रिन कोषाध्यक्ष, र सदस्यहरुमा ऋषिराज बराल, ईश्वरचन्द्र ज्ञवाली, पूर्ण घर्ती, च्याङ्वा लामा आदि रहेको केन्द्रीय समिति निर्माण गरी सांस्कृतिक आन्दोलनलाई अघि बढायो । यस क्रममा कैयौं कलाकार, साहित्यकार सहिद भए भने कैयौं गिरफ्तारीमा परी जेलनेल यातना भोग्न विवश पारिए । सांस्कृतिक क्षेत्रका पहिला सहिद थिए रुकुमका मस्त विष्ट ।
त्यसैगरी २०६० साल असारमा ललितपुरको जावलाखेलमा दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरी अध्यक्ष मणि थापा, उपाध्यक्ष घनश्याम ढकाल, महासचिव ऋषिराज बराल, सचिव ईश्वरचन्द्र ज्ञवाली, कोषाध्यक्ष पूर्ण घर्ती, र सदस्यहरु रोशन जनकपुरी, गङ्गा श्रेष्ठ, शारदा श्रेष्ठ, हर्षबहादुर मल्ल, दाताराम शर्मा, माइला लामा, गणेश भण्डारी, सीता आचार्य, मोहलाल चन्द आदि रहेको २१ सदस्यीय केन्द्रीय समिति गठन भयो । सोही सम्मेलनले पूर्ण घर्ती संयोजक रहेको माइला लामा सहसंयोजक, सीता आचार्य, योगिता मोक्तान, राजन बम, मोहित श्रेष्ठ, प्रदीप देवान सदस्य रहेको सामना परिवारको पुनर्गठन पनि ग¥यो ।
त्यसै गरी २०६१ सालमा संघको विघटन गरी ऋषिराज बराल संयोजक रहेको राष्ट्रिय सम्मेलन आयोजक समितिको निर्माण भयो । यसवीचमा संघले पत्रिका प्रकाशन, अडियो प्रकाशन गीतहरु निर्माण, सांस्कृतिक कार्यक्रम प्रस्तुति, जनचेतना अभियान, सेनामा स्वयम् सेवाका लागि सिपाहीको आपुर्ति, साँस्कृतिक सेनाका ११ कम्पनी निर्माण र परिचालन, वलिदान, सहादत, कृतिहरुको प्रकाशन, प्रशिक्षण, तालिम, जनसैन्य सुदृढीकरण अभियान, जनप्रतिरोध अभियान आदिमा सहभागिता गर्दै अनेक साहित्यिक, साँस्कृतिक गतिविधि सञ्चालन गरेको थियो । जनयुद्धका गौरवशाली आठ वर्ष (श्रव्यदृश्य) पनि यसै समयमा प्रकाशित भएको हो ।
२०६३ साल भाद्र ५ गते जनसांस्कृतिक संघको तेस्रो राष्ट्रिय सम्मेलन कीर्तिपुरको स्मृति भवनमा सम्पन्न भयो । यस सम्मेलनले ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा उपाध्यक्ष माइला लामा, महासचिव गणेश भण्डारी सचिव रोशन जनकपुरी कोषाध्यक्ष हीरामणि दुःखी रहेको ३९ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको थियो । यसै सम्मेलनले संघलाई महासंघमा परिवर्तन गर्यो र जनकलाकार, लेखक, चलचित्रकर्मीका केन्द्रीय संगठनहरु निर्माण गर्यो । संघले साहित्यिक, साङ्गीतिक प्रकाशन, श्रव्यदृश्य, चलचित्र निर्माण, इच्छुक साँस्कृतिक प्रतिष्ठान गठन, देशैभर साङ्गीतिक प्रस्तुति, जनतान्त्रिक खेलकूद टिम निर्माण, मार्क्सवादी पत्रकार मञ्च, मार्क्सवादी बुद्धिजीवी मञ्चहरु पनि गठन र परिचालन गर्यो । त्यसैगरी ४३ सदस्यीय सामना परिवार पनि पुनर्गठन गर्यो । जसको संयोजकमा माइला लामा र सहसंयोजकमा सीता आचार्य रहनु भएको थियो । २०६४ सालमा सामनाको पुनः पुनर्गठन गरी संयोजक माइला लामा र सहसंयोजक मोहलाल चन्द हुनु भयो ।
२०६५ साल माघ २३ गते अखिल नेपाल जनसांस्कृतिक महासंघ र प्रगतिशील साँस्कृतिक संगठनका वीच एकताका निम्ति एकता अधिवेशन भयो । जसले संगठनको नाम एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ राख्यो । एकता अधिवेशनले ईश्वरचन्द्र ज्ञवाली संयोजक र मातृका पोखरेल सहसंयोजक रहेको १५१ सदस्यीय केन्द्रीय समिति निर्माण गर्यो । जसलाई केन्द्रीय समितिको चौथो पूर्ण बैठकले ७५ सदस्यीय सम्मेलन आयोजक समितिमा परिवर्तन गर्यो । त्यस्तै सामनातर्फ २०६६ सालमा सामना परिवारको संयोजकमा विजय साङ्पाङ् राई र सहसंयोजकमा किशोर विकको नेतृत्वमा सामना परिवारको पुनर्गठन गरियो । उता इन्द्रेणी साँस्कृतिक संगठनले पनि २०५३ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गर्दै नेपालको सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको थियो । २०५७ सालमा इसास र रक्तिम साँस्कृतिक परिवारवीच एकता भएपछि निनु चापागाईं - अध्यक्ष, जीवन शर्मा - उपाध्यक्ष, केशव नेपाल -महासचिव रहेको प्रगतिशील साँस्कृतिक संगठन निर्माण भयो । यसले वैधानिक आन्दोलन चलाउँदै गणतन्त्रको संघर्षलाई योगदान पुर्यायो । २०६० सालमा पहिलो राष्ट्रिय सम्मेलन गरेर निनु चापागाईं अध्यक्ष, वदन शर्मा उपाध्यक्ष, मातृका पोखरेल महासचिव, सुमन देवकोटा सचिव रहेको केन्द्रीय समिति चयन गर्यो । यसले सहरबाट र जनसांस्कृतिक संघले गाउँबाट संघर्षलाई जोड्ने काम गरे ।
माओवादी आन्दोलनमा क्रमशः विचलन, संसदीय रुझान, स्वार्थ र पद–पैसाको भोक देखापर्दै गएपछि पार्टीभित्र विवादहरु सिर्जना हुन थाले । जसको परिणाम ‘पार्टीभित्र पार्टी’ र ‘क्रान्तिभित्र क्रान्ति’ हुँदै ‘विद्रोहको अधिकार सुनिश्चित’ समेत गर्यो । जसको परिणाम अन्ततः माओवादी पार्टी विभाजन हुन पुग्यो । एउटा एकीकृत माओवादी र अर्को ड्यास माओवादी बन्न पुगेपछि सांस्कृतिक आन्दोलन पनि विभाजित हुन पुग्यो । माओवादी आन्दोलनको क्षयीकरण प्रक्रिया सुरु भयो । फलतः एउटै माओवादी आन्दोलनका चार ठुला पार्टी र बाँकी समूह गरी १८ वटा पार्टी तथा समूह बन्न पुगे । यो फूटको ४ वर्ष नहुँदै ड्यास पार्टीमा पनि फेरि फुट र विभाजन भई विप्लव समूह र किरण समूह बन्न पुगे भने एकीकृत माओवादी पनि फुटेर बाबुराम र प्रचण्ड समूहमा विभाजन भए । पछि किरण समूहमा पनि फुट भई वादलको नेतृत्वमा ठुलो समूह एकीकृत माओवादीसित एकताबद्ध हुन पुग्यो र माओवादी केन्द्रको निर्माण भयो । केही समयपछि सो पार्टी र एमालेवीच एकता हुन पुग्यो र नेकपा(नेकपा) गठन भयो । एकता मन नपर्नेहरु कोही निष्क्रिय बने भने गोपाल किराँतीहरुले नेकपा(माओवादी) पुनर्गठन गर्दै अर्कै पार्टी बनाउन पुगे । यसरी माओवादी आन्दोलन छिन्नभिन्न हुन पुगेपछि विभाजन तथा शक्ति क्षयीकरणलाई बोध गर्दै बाबुरामको पार्टीबाट फुटेर देवेन्द्र पौडेल‘सुनील’, देवेन्द्र पराजुली आदिको समूह पनि माओवादी केन्द्रमा नै समाहित हुन आइपुग्यो । पार्टी जस्तै त्यसका भ्रातृ संगठनहरु पनि फुट्ने र एकताबद्ध हुने, प्रवेश र पुनर्मिलन हुने गर्न थाले । सोही प्रक्रियामा अखिल नेपाल जनसांस्कृतिक महासंघहरुको पनि एकता र पुनर्मिलन भयो । उता किरण समूहको सांस्कृतिक संगठनले ०६८ मा ५औं राष्ट्रिय सम्मेलन गरी ईश्वरचन्द्र ज्ञवालीको नेतृत्वमा महासचिव हीरामणि दुःखी रहेको केन्द्रीय समिति निर्माण ग¥यो । यसले कृष्ण सेन इच्छुकका कृतिहरुको संकलित रचना संग्रहका विभिन्न भाग प्रकाशन, इच्छुक प्रतिष्ठान स्थापना र भवन निर्माण, अन्य पुस्तकहरु प्रकाशन, गीत/संगीतका अडियो प्रकाशन, राष्ट्रिय सांस्कृतिक जागरण अभियान, इच्छुक स्मृति पुरष्कार स्थापना (रु १ लाख राशिको वार्षिक), इच्छुक कला तथा प्रतिभा पुरष्कारहरु स्थापना (२५–२५ हजार राशिका वार्षिक), चुनु गुरुङ, शिव श्रेष्ठ लगायत सहिदका नाममा सभाकक्षहरु स्थापना, इच्छुक पुस्तकालयको स्थापना जस्ता थुप्रै महत्वपूर्ण काम गरेको छ । साथै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवाल, वर्गप्रतिबद्धता र वर्गीय विचारमा पनि निरन्तर संघर्ष गर्दै आयो । पछि नेकपा(एकीकृत) र ड्यास माओवादीमा एकता भएपछि नेकपा(क्रान्तिकारी माओवादी) बनेको सो पार्टीभित्र पुनः विचलन देखापर्यो । यही विचलनको परिणाम विप्लव समूह फुटेर नेकपा गठन भयो भने बादलको नेतृत्वमा एकताको नाममा फेरि फुट भई नेकपा(क्रान्तिकारी माओवादी)को ठुलो समूह एकीकृत माओवादीमा मिल्न पुग्यो । पार्टीहरुको फुट र एकताको यो प्रभाव जबसहरुमा पनि पर्नु स्वाभाविक थियो र अखिल नेपाल जनसाँस्कृतिक महासंघमा पनि फुट भयो र एकता पनि हुन पुग्यो । यही एकता र पुनर्मिलनका क्रममा नै किरणतर्फको महासङ्घका अध्यक्ष ईश्वरचन्द्र ज्ञवाली, वद्री बजगाईं, धनबहादुर महर्जन, कुमार नगरकोटी, श्रीकृष्ण सिटौला लगायत पच्चीस जना नेतृत्वको समूह सामूहिक रुपमा माओवादी केन्द्रमा समाहित हुन आइपुग्यो ।
२०७३ सालको साउनमा अध्यक्ष गणेश भण्डारीले राजिनामा दिएपछि सीता शर्मालाई कार्यवाहक अध्यक्ष बनाउने निर्णय भयो । सोही साल भदौ ३० गते दश पार्टी सम्बद्ध सांस्कृतिक संगठनहरुवीच एकता सम्पन्न भयो । यसमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका दुई घटक, प्रगतिशील सांस्कृतिक मञ्च र अन्य सांस्कृतिककर्मी हुनुहुन्थ्यो । यसले सोही दिन एकता महाधिवेशन पनि सम्पन्न गरी संगठनको नाम जनसांस्कृतिक महासंघ, नेपाल राख्यो । एकता महाधिवेशनबाट सरल सहयात्रीको नेतृत्वमा २८ पदाधिकारी सहितको १७५ सदस्यीय केन्द्रीय समिति निर्माण गर्यो ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) वीच २०७६ साल माघ १२ गते एकता भएपछि ती पार्टीका साँस्कृतिक भ्रातृसंगठनहरु जनसांस्कृतिक महासंघ, नेपाल र राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालवीच पनि एकता भयो । एकतापछि एकता महाधिवेशन आयोजना गरी खगेन्द्र राईको संयोजकत्वमा जनसांस्कृतिक महासंघ, नेपालको केन्द्रीय समिति चयन ग¥यो । यसै अधिवेशनलाई छैटौं राष्ट्रिय सम्मेलन पनि घोषणा गर्यो । यस सम्मेलनले नै सात अांगिक संगठनहरु पनि निर्माण गर्यो । तर एक वर्ष पुग्दा नपुग्दै नेकपा (नेकपा) भित्र अन्तरविरोधहरु सुरु भए । यो अन्तर विरोधकै वीच सर्वोच्च अदालतमा पार्टी नाम जुधेको र नाम बदर गरिदिन रिट निवेदन प¥यो । यही पार्टी नाम जुधेको निहुँमा सर्वोच्चले पनि मौकामा चौका हान्दै दुई पार्टी पुरानै स्थितिमा अलग–अलग हुनुपर्ने फैसला गरिदियो । जुन नितान्त अस्वाभाविक थियो । अदालतले पार्टी अलग–अलग गरिदिएपछि ती पार्टी निकट जवसहरु पनि अलग–अलग हुन पुगे । अनि जनसाँस्कृतिक महासंघ, नेपालले सरल सहयात्रीको संयोजकत्वमा सातौं राष्ट्रिय सम्मेलन आयोजक समिति गठन ग¥यो ।
२०७८ साल पुष १–२ गते यस जनसाँस्कृतिक महासंघको सातौं राष्ट्रिय सम्मेलनको आयोजना गरियो । यस सम्मेलनले मातृका पोखरेलको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्यो । विधानमा उल्लेखित उपाध्यक्ष, महासचिव, सचिवको संख्यात्मक प्रस्ताव अनुसार पदाधिकारी चयन हुन नसकेपछि अध्यक्ष, ११ जना उपाध्यक्ष, सचिव र कोषाध्यक्षको मात्र निर्वाचन गरी २०७९ साल असारको ११–१२ गते बसेको केन्द्रीय समितिको पूर्ण बैठकले निर्वाचन पद्धति अनुसार डम्बरबहादुर रोकाया थप उपाध्यक्ष, सुवर्ण हमाल महासचिव, हिसन समाल र पर्वत बिक सचिवमा निर्वाचित गरिए ।
महासंघका कैयौं पदाधिकारी र केन्द्रीय सदस्यहरु राजकीय पदहरुमा नियुक्तिमा गएपछि संगठन सञ्चालनमा अनियमितता, अवरोध, अप्ठ्यारो स्थिति सिर्जना भयो । तसर्थ २०८९ चैत्र १०–११ गते महासंघको तेस्रो पूर्ण बैठक बसी अप्ठ्याराहरुबारे छलफल गर्दै त्यसको समाधानका रुपमा उपाध्यक्ष भीम कुमाखीलाई अध्यक्षद्वारा कार्यवाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय भयो ।
छैटौं सम्मेलनदेखि आठौं सम्मेलनको पूर्व सन्ध्यासम्म आउँदा संगठनले विविध गतिविधि सञ्चालन गर्दै आएको छ । विभिन्न दिवसहरुको आयोजना गर्नु, पुरष्कारहरु स्थापना र प्रदान गर्नु, राष्ट्रिय सम्मानको आयोजना गरी विविध प्रतिभाहरुलाई सम्मानित गर्नु, सात आंगिक संगठन परिचालित गर्नु, तिनका कार्यक्रम निर्धारित र कार्यान्वयन गर्नु, साहित्यिक गोष्ठीहरु गर्नु, वैचारिक बहस र छलफल गर्नु, सामन्ती संस्कृतिका विरुद्ध हस्तक्षेप गर्नु, गलत संस्कृति र सँस्कारहरुबारे बहस चलाउँदै हस्तक्षेप गर्नु, प्रगतिशील साँस्कृतिक संस्कृति स्थापनाका लागि निरन्तर लागि पर्नु, सामन्तवादी सँस्कृतिलाई अन्त गर्ने र जनवादी सँस्कृतिको माध्यमबाट समाजवादतर्फको सांस्कृतिक यात्रा तय गर्नु, रुढिवाद, अन्धसँस्कार, कुरीति, गलत परम्परा, धार्मिक अतिवाद, महिला हिंसा, जातीय छुवाछूत विरुद्ध संघर्ष जारी राख्नु आदि कार्य सम्पन्न गरेको छ ।
भीम कुमाखीलाई कार्यवाहक अध्यक्ष चयन गरेको पूर्ण बैठकले एक वर्षभित्र आठौं राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने म्यान्डेट दियो । सो म्यान्डेट अनुसार गत चैत्र १२ गतेभित्र सम्मेलन सम्पन्न गर्नु पर्नेमा विविध भौतिक÷प्राविधिक कारणहरुले गर्दा तोकेको समयमै सम्मेलन सम्पन्न हुन नसके पनि अब आठौं सम्मेलन सम्पन्न हुन गइरहेको छ । यसवीचमा देशका सातै प्रदेशका प्रदेश सम्मेलन सम्पन्न भइसकेका छन् र कैयौं जिल्ला संयोजन समिति पनि गठन भइसकेका छन् । छवटा आंगिक संगठनका पनि राष्ट्रिय सम्मेलन सम्पन्न भएका छन् । देशैभरिबाट लगभग चारसय प्रतिनिधि चयन भई सम्मेलनमा सहभागी हुनु भएको छ । कैयौं पटक केन्द्रीय समिति र कार्यालयका बैठकहरु पनि सम्पन्न भएका छन् । सम्मेलनको तयारी तदारुकताका साथ पूरा भएको छ । महासंघबाट दुई दर्जनको हाराहारीमा कमरेडहरु नियुक्तिमा लैजाने पहलमा महासंघ सफल भएको छ । भने कतिपय सरकारी पुरष्कारहरु हाम्रा साथीहरुलाई दिने निर्णय गराउने काममा पनि सफलता हासिल भएको छ । यतिखेर महासंघको सांगठनिक गतिविधिमा तीव्र उभार आएको छ । का.वा. अध्यक्षको सक्रियताका कारण सकारात्मक उपलब्धि हासिल भएका छन् । सांगठनिक र आर्थिक प्रतिवेदनका सूचकहरु पनि सकारात्मक नै रहेका छन् । महासंघलाई पुनर्जीवन दिने आकाङ्क्षाहरु र प्रभावशाली बनाउने चाहना बढेको छ । आंगिक संगठनको सक्रियता, वैचारिक काम, प्रकाशन कार्यमा कमजोरी भएका छन् भने सबै केसहरुको सक्रियतामा अभाव र शिथिलता, एकरुपता र जिम्मेवारी बहन गर्ने कुरामा ढिलासुस्ती, अलिकति सांगठनिक अनुशासनमा फितलोपन, अकर्मण्यता आदि कमजोरीहरु देखिएका छन् जसलाई यस सम्मेलनले हटाउने प्रण गर्नेछ । महासंघका थुप्रै समस्याहरु छन् जसको चर्चा छुट्टै शीर्षकमा गरिएको छ । ती समस्याहरुको निवारण गर्ने प्रतिबद्धता पनि यस सम्मेलनले गर्ने नै छ ।
राष्ट्रिय परिस्थिति :
गणतन्त्रको सत्र वर्षमा पनि देश र जनताका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याको शीघ्रतर समाधान हुन नसक्नु, प्रगतिशील अर्थतान्त्रिक पद्धतिमा तात्विक परिवर्तनको प्रत्याभूति हुन नसक्नु, जनयुद्धका उद्देश्य र सहिदका सपना पूरा हुन नसक्नु, शान्तिप्रक्रिया टुङ्गोमा नपुग्नु, संसदीय पद्धतिमा कुनै विकसित र प्रगतिशील चरित्र नदेखिनु, भ्रष्टाचार, तस्करी, कमिसनखोरी, अनियमितता तथा नीतिगत भ्रष्टाचार भइरहनु, विकास र प्रगति अघि बढ्न नसक्नु, सुदूरवर्ती दुर्गम क्षेत्रमा परिवर्तनका किरण पुग्न नसक्नु, जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता तथा सहिद परिवारका समस्या समाधान हुन नसक्नु, सम्विधानले प्रत्याभूत गरेका शिक्षा, स्वास्थ्य, खाद्य–सम्प्रभुता, आवास, सामाजिक सुरक्षा जस्ता विषयहरु व्यवहारमा लागु हुन नसक्नु, देश निरन्तर अस्थीरता, अकर्मण्यता, दिशाहीनता, दलहरुको आपसी झगडा र झमेलामा जेलिनु आदि कुराले राष्ट्रिय स्थितिको राजनैतिक मानक सकारात्मक हुन सकेको छैन । राष्ट्रियता सम्बन्धी असमान सन्धी–सम्झौता र सीमा–समस्या (विवाद) पनि हल गर्ने प्रक्रिया नै शुरु हुन नसक्नु, बेरोजगारी र युवा पलायन अत्यन्त तीव्र बन्नु र प्रतिभाहरु विदेश पलायन हुनु, खाद्यान्नमा परनिर्भरता र आयातवृद्धि हुनु तथा कृषि उत्पादन खस्किंदै जानु, राष्ट्रिय–आत्मनिर्भर–अर्थतन्त्र होइन दलाल पुँजीवादी, नोकरशाही पुँजीवादी, व्यापारिक पुँजीवादी अर्थतन्त्रकै हालीमुहाली चलिरहनु, देश आर्थिक रुपले कमजोर हुँदै जानु, विप्रेषणले अर्थतन्त्र धानिनु पर्ने स्थिति रहनु, पुँजीगत बजेट नै खर्च नहुनु र औद्योगिक क्षेत्रमा लगानी हुन नसक्नु जस्ता समस्या पनि यथावत् रहेका छन् । प्रतिगामी, सामन्ती, शोषणमा आधारित, प्रतिक्रियावादी सँस्कृति बलशाली बन्नु र त्यो सांस्कृतिक सत्तालाई प्रगतिशील साँस्कृतिक सत्ताले विस्थापित गर्ने कुरा त परै जाओस् हस्तक्षेपकारी भूमिकासम्म हुन नसक्नु, सांस्कृतिक रुपमा महान् जनयुद्ध र जनयुद्धका सहिद स्थापित हुन नसक्नु र पुरानै सँस्कृतिको आधिपत्य रहिरहनु,, चुनावी पद्धति नै भ्रष्टाचार र शोषणको आधार भूमि बन्नु, अत्यन्त महँगो चुनावी शैलीले देशको ढाड भाँचिनु जसका कारण नैतिक, इमान्दार र सदाचारी व्यक्ति नै चुनावी प्रक्रियाबाट पाखा पारिने परिवेश बन्नुु, प्रतिगामी र यथास्थितिवादी सँस्कृतिले टाउको उठाउँदै जानु तथा विसङ्गतिपूर्ण, विकृत साँस्कृतिक सत्ता कायम रहनु, सरकार निरन्तर अस्थिर बन्नु, जनयुद्धका चौध हजारको वलिदान र जनान्दोलनबाट प्राप्त भएको परिवर्तन सँस्थागत हुन नसक्नु, उल्टै क्रान्तिकारीहरु विरुद्ध विषवमन गर्दै दुष्प्रचार र भ्रम सिर्जना गरिनु तथा क्रान्तिकारीहरुप्रति नै घृणा, निन्दा, गाली, भत्र्सना गरिनु, वलिदानको अपमान हुनु, त्यो निस्वार्थ त्याग, वलिदान, साहस र वीरताको गाथालाई नीच र हीन देखाउँदै क्रान्तिलाई विद्रूपीकरण, भ्रष्टीकरण गरिनु, जनयुद्धका घटना र नेतृत्वपङ्क्तिलाई अपराधीकरण तथा राक्षसीकरण गर्ने स्थिति देखापर्नु जस्ता धेरै र ठुला चुनौती विद्यमान रहेका छन् । जनयुद्धको त्याग–वलिदानको विद्रूपीकरणका माध्यमबाट माओवादी आन्दोलनलाई नै वदनाम गर्ने, किनारा लाउने, नियत दृखिनु चिन्ताको विषय बन्दो छ । गैरप्रगतिशील, प्रतिगामी, प्रतिक्रियावादी, यथास्थितिवादीहरुले आज माओवादीलाई चारैतिरबाट घेरावन्दी गरिरहेको स्थितिले गर्दा माओवादीहरु तल पर्दै, कमजोर बन्दै, विभाजित हुँदै गइरहेको स्थिति पनि विद्यमान हुनु परिवर्तनप्रतिको चुनौती हो । यसका पछाडि माओवादीको आफ्नै व्यवहार, सँस्कृति, आन्तरिक अवस्था, जीवन पद्धति र स्वभावले पनि काम गरेको छ । तसर्थ देशको साँस्कृतिक अवस्थालाई यसरी देखाउन सकिन्छ ।
क) वर्गीय विचार र वर्गीय संस्कृतिको पक्षमा उँभिई जनतामा विश्वास, मायाँ, प्रतिष्ठा स्थापित गर्नु,
ख) विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रगतिशीलकरण गर्दै समाजवादी बाटो प्रशस्त गर्दै जानु,
ग) प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै सहिदले देखेका सपना पूरा गर्न प्रतिबद्ध रहनु,
घ) विदेशी शक्तिहरु खासगरी साम्राज्यवादी र विस्तारवादीहरुको हस्तक्षेप र प्रभावलाई अस्वीकार गर्दै राष्ट्रिय स्वाधीन चेतनालाई मजबूत बनाउनु,
ङ) माओवादीले जनताका भावना र आकाङ्क्षालाई आत्मसात् गर्दै स्वतन्त्र, समृद्ध, समुन्नत, सुन्दर, सुखी–नेपाल निर्माणको अभियानलाई निरन्तर अगाडि बढाउँदै माओवादी शक्ति र सँस्कृतिलाई सुदृढ गर्नु,
च) यथास्थितिवादी, प्रतिगामी, प्रतिक्रियावादी, यान्त्रिक, जडतावादी तथा अग्रगामी, प्रगतिशील, देशभक्त, जनतान्त्रिक शक्तिवीचको अन्तरविरोधपूर्ण सङ्घषको विद्यमान अवस्थालाई मनन गर्दैै यस्तो चुनौतीको सामना गर्नु रहेको स्पष्ट छ । यो स्थितिमा पनि यतिखेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्ध चालेका कदम र उपलब्धिले सकारात्मक सन्देश प्रवाहित गरेको छ । प्रम प्रचण्डको ‘केही न केही गरेरै छाड्ने’ हुटहुटी, सुशासनका कदम, प्रगतिशील बजेट निर्माण र जनअपेक्षाको सम्बोधन गर्ने आकाङ्क्षा, राष्ट्रिय गौरवका आयोजनाहरुको रचना र कार्यान्वयन, मुलुकको विकास र समृद्धिका सपना बुन्ने स्वभावले, क्रमशः माओवादीप्रति पछिल्लो अवधिमा सकारात्मक सन्देश प्रवाहित गरेको छ । तर उत्तरआधुनिकतावाद, उपभोक्तावाद, क्षणिकतावाद, विखण्डनवादको प्रभाव र इतिहास र वर्ग नै बिर्सने, न्याय, समानता, सदाचार विना नै समाजवादको विचार देख्ने कुराले प्रतिगामीहरु सल्बलाउनु अर्को चुनौती देखिएको छ । यो राष्ट्रिय स्थितिमा जनसाँस्कृतिक महासंघले के गर्नु पर्छ र कसरी अघि बढ्ने भन्ने विषयलाई यो सम्मेलनले निष्कर्ष प्रदान गर्नेछ ।
अन्तर्राष्ट्रिय स्थिति :
विश्व यतिखेर बहुध्रुवीय बन्दै गइरहेको छ । एकातिर अमेरिकी साम्राज्यवाद र त्यसका अनुयायी राष्ट्रहरु, अर्कातिर रुस, चीन, भारत, ब्राजिल र दक्षिण अफ्रिकाका संयुक्त शक्तिहरुवीचको अन्तरविरोध यतिखेर तीव्र छ । जसले गर्दा नै हिंजोको साम्राज्यवादी एकाधिकार र प्रभुत्वलाई चुनौती थपिएको छ र साम्राज्यवादी प्रभुत्व कमजोर बन्दै जान लागेको देखिएको छ । रुस–युक्रेन युद्ध, हमास र इजरायलवीचको द्वन्द्व, इरान र इजरायलवीच हतियार हानाहान, सिरिया र अन्य देशहरुमा समेत चलेका द्वन्द्व, अफगानिस्तानबाट अमेरिकाको लज्जास्पद पलायनले गर्दा तेस्रो विश्वयुद्धको आशङ्का बढेको छ र साम्राज्यवादले अर्को विश्वयुद्धको वातावरण बनाइरहेको प्रतीत हुन्छ । आज विश्वभर नवउपनिवेशवादका रुपमा साम्राज्यवादले आफ्नो प्रभुत्व स्थापित गर्न खोजे तापनि विपरीत ध्रुवीय शक्तिकेन्द्रले त्यसलाई चुनौती दिएको छ । रुसले ‘युक्रेनयुद्धमा आफू अमेरिका र युरापेली युनियनको संयुक्त शक्तिसित युद्ध लडिरहेको’ भन्ने भनाइले त्यसलाई झन् बढी स्पष्ट गर्दछ । अमेरिका र युरोपेली युनियनले लामो समयसम्म युक्रेनलाई हतियार र सहयोग उपलब्ध गराइरहे तापनि रुसले नै युक्रेनी भूभाग कब्जा गर्दै अघिबढिरहेको स्थितिले साम्राज्यवादी नाटो शक्तिको कमजोर पक्ष पनि देखिंदो छ । आफ्नो राजनैतिक प्रभाव र आर्थिक मन्दीलाई ढाकछोप गर्न साम्राज्यवाद अन्य मुलुकमाथि युद्ध–आतङ्क लाद्न खोजिरहेको छ र हतियार बेचिरहेछ । अमेरिका विश्व–आतङ्कवादको संरक्षक, उत्प्रेरक र सर्जक समेतको भूमिकामा देखिनु आजको मात्र स्थिति भनै हैन । दोस्रो विश्वयुद्ध पछि यो प्रवृत्ति जबरजस्त हावी हुँदै आएको छ । हाल साम्राज्यवाद ताइवानलाई उक्साइरहेको छ ताकि चीनलाई युद्धमा होम्न सकियोस् र कमजोर पार्न सकियोस् । उसले रुस र चीन दुबैलाई युद्धमा झोंकेर आफू विश्वको साँढे बनिरहन चाहन्छ । तर चीन भने आफ्नो शान्त कूटनीति मार्फत विश्वभरि आफ्नो सम्बन्ध विस्तार गरिरहेको छ । यसरी रुसले वर्तमान अवस्थामा साम्राज्यवादलाई नै टक्कर दिइरहेको छ । साम्राज्यवादप्रति विश्वभरिका जनतामा घृणा र चीन–रुसप्रति सहानुभूति र समर्थनले वैकल्पित ध्रुवलाई सशक्तीकरण गर्र्दै लगेको देखाउँछ । अर्कातर्फ यतिखेर विश्वमा कम्युनिष्ट तथा क्रान्तिकारीहरु आफ्नो अस्तित्वको रक्षा गर्नमै सीमित भएको स्थिति छ । आज क्रान्तिकारी आन्दोलन शिथिल र सुषुप्त अवस्थामा रहेको छ । तसर्थ संसारमै क्रान्तिकारी कम्युनिष्टहरुले शक्तिसञ्चय गर्दै नयाँ वस्तुगत विचार आविष्कारमा जोड दिनु पर्ने स्थिति बनेको छ । जुन विचारले २१ सौं शताब्दीको क्रान्तिलाई दिशा निर्देश गर्नेछ ।
सांस्कृतिक आन्दोलनका समस्याहरु :
हाम्रो सांस्कृतिक आन्दोलनले पनि विभिन्न किसिमका चुनौतीको सामना गरिरहेछ । वर्तमानमा साँस्कृतिक आन्दोलनका ती चुनौती र समस्यालाई यसरी हेर्न सकिन्छ ।
१) वैचारिक समस्या : विचलन विचारबाट शुरु हुन्छ । विचारबाट निर्देशित नहुनु दृष्टिविहीनले अँध्यारोमा छामछाम छुमछुम गरे जस्तै हुन्छ । नेपालको साँस्कृतिक आन्दोलनको समस्या विचारको समस्या हो । सही विचारले मात्र सही आन्दोलनको नेतृत्व गर्न सक्छ । सामन्तवाद विरोधी, नोकरशाह तथा व्यापारिक पुजीवाद विरोधी एवम् दलाल पुँजीवाद विरोधी, साम्राज्यवाद विरोधी, प्रभुत्ववाद विरोधी, विस्तारवाद विरोधी, प्रतिक्रियावाद र पश्चगमन विरोधी, शोषण र उत्पीडन विरोधी, वर्गीय पक्षधर विचारबाट निर्देशित भएर मात्र विद्यमान साँस्कृतिक अवस्थाबाट पार पाउन सकिन्छ । देशलाई समयानुकूल परिवर्तन, विकास र समृद्धि दिन विद्यमान शासन पद्धतिलाई नयाँ आयाम दिन सक्नु पर्दछ । तर संसदीय पद्धतिको यथास्थितिमै रुमल्लिइरहनु र अग्रगामी दिशाबोध नगर्नु नै वैचारिक समस्या हो । तसर्थ सत्ता कुन वर्गको भन्ने छुट्याउन नै गारो परेको छ । सरकारमा बस्नु नै सत्तामा बस्नु हो र परिवर्तन पनि हो भन्ने नहुँदो रहेछ । आजको आवश्यकता वैचारिक स्पष्टता र वर्ग प्रतिबद्धता हो । वैचारिक अस्पष्टताले नै सँस्कृति र व्यवहारमा विचलन ल्याएको छ । फलतः आत्मकेन्द्रित व्यक्तिवादी–अवसरवाद, मनोगतवाद र सङ्कीर्णतावाद, कुण्ठा, ग्लानि, निराशा, अरुचि, व्यक्तिस्वार्थ केन्द्रित मनोवृत्ति, गुटवाद तथा स्वार्थी समूह, असहिष्णुता र अराजकतावादी प्रवृत्ति, दम्भी, अहङ्कारी, क्षेत्रीयतावादी, जातिवादी र नश्लवादी सोंचाइ, निम्नपुँजीवादी मनोवृत्ति जस्ता सांस्कृतिक विकृतिको बोलबाला सिर्जना भएको छ । सामूहिकता हैन वैयक्तिकता, अरुलाई हैन मलाई मात्र भन्ने आत्मस्वार्थी सँस्कार, पद, पैसा अनि प्रतिष्ठाका लागि ‘जे पनि र जस्तो पनि’ नैतिकहीन कर्म गर्ने स्वभाव, चाकरी र चापलुसी गरेर स्वार्थ साध्ने प्रवृत्ति खतरनाक रुपमा झाङ्गिएर आएको छ । यो मूलतः क्रान्तिको आशय र आदर्श विपरीत कर्म हो । क्रान्तिले ल्याएको गतिसंगै साँस्कृतिक रुपमा रुपान्तरण हुन नसक्नु, परिवर्तित यथार्थलाई सही ढङ्गले बुझ्न नसक्नु विचारकै परिणाम हो अथवा लाल र दक्षवीच सन्तुलन र सामञ्जस्य मिलाउन नसक्नुको परिणाम हो । तसर्थ विचारमा स्पष्टता र गहिराइ, सिद्धान्तको ज्ञान र त्यसप्रति पूर्ण प्रतिबद्धता एवम् बुझाइमा स्पष्टता र ठोस विश्लेषणको अभाव नै आज जटिल वैचारिक समस्या बनेको छ ।
२) संगठनको समस्या : सांस्कृतिक रुपान्तरणको प्रक्रिया र सन्देश दूरदराजसम्म पु¥याउने माध्यम नै संगठन हो । संगठन चुस्त, दुरुस्त, गतिशील हुनुपर्छ । संगठन भद्दा र भीडतन्त्र हुनुहुन्न । त्यो अनुशासित, मर्यादित र शिष्ट हुनुपर्छ । तर हाम्रो संगठनका कमिटीहरु ठुल्ठुला भद्दा कमिटी रहेका छन् जसका कारण सबै सदस्य उपस्थित भएको पूर्ण बैठकसम्म हुन नसक्ने स्थिति छ । संगठनहरुमा जोश, जाँगर सहितको क्रियाशीलता मर्दै गएको छ । यसले पालिका तहसम्म पुग्नु पर्ने संगठनहरु जिल्लासम्म पनि पुग्न सकेका छैनन् र बनेका पनि गति र क्रियाशील छैनन् । अझ आङ्गिक संगठन त घोषणा मात्र हुने गरेको र बैठकसम्म नबसेको स्थिति छ । योजना, प्रशिक्षण, तालिम, कार्यक्रम तथा गतिविधि तलसम्म सञ्चालन हुन नसक्ने समस्या अहिले विद्यमान छ । चुस्त दुरुस्त, छिटो छरितो, गतिशील क्रियाशील, संगठनप्रति समर्पित तथा समय दिन सक्ने कार्यकर्ता बनाउनु आजको जरुरी प्रश्न हो । केवल लाभका पद, नेतृत्वका पद, नियुक्ति, आर्थिक फाइदा हुने गतिविधिका बेला सल्बलाउने र बाँकी समय निस्क्रिय हुने स्थितिलाई हटाउनु पर्छ । संगठनमा आवद्ध भई निरन्तर क्रियाशील भईरहनु, संगठनका विचार, उद्देश्य र आदर्शप्रति प्रतिबद्ध र समर्पित हुनु, निरन्तर र नियमित लेबी दिनु, सामूहिक निर्णय व्यक्तिगत जिम्मेवारीको पालना गर्नु, संगठनप्रति उत्तरदायी बन्नु, तल्लो कमिटी माथिल्लो कमिटीप्रति उत्तरदायी हुनु वास्तविक कार्यकर्ताको पहिचान हो । त्यस्ता व्यक्ति मात्र संगठनका पदाधिकारी हुन पाउने व्यवस्था नमिलाउने हो भने संगठन शिथिल, अकर्मण्य र बेवारिसे बन्नेछ । यो झन् महत्वपूर्ण समस्या हो ।
३) रुपान्तरणको समस्या : हामीले अपनाएको विचार, दृष्टिकोण, आदर्श, लक्ष्य अनुरुप साँस्कृतिक रुपमा रुपान्तरणको समस्या तीव्र र घनीभूत बन्दै गएको छ । समाजवादी सँस्कृति स्थापनाका लागि सबै क्षेत्रमा साँस्कृतिक रुपान्तरण जरुरी छ । हाम्रा व्यवहार, आचरण, बोली, भाषा, जीवन शैली र चरित्रमा नयाँ जनवादी संस्कृति स्थापित हुन सकेको पाइन्न । त्यो नभएसम्म यो पनि हुन सक्दैन । हाम्रा सँस्कारमा प्रगतिशील, समाजवादी संस्कृतिको कुरा गफ मात्रै भइरहने हो भने हाम्रो विसर्जन पनि निश्चित छ । तसर्थ रुपान्तरणको सँस्कृतिलाई व्यवहारसिद्ध बनाउन जरुरी छ ।
४) पठन संस्कृति निर्माणको समस्या : खुला संसदीय पद्धतिमा आएपछि संगठनमा अध्ययन, पठन, बौद्धिकता, दक्षता र निपुण बन्ने समस्या पनि जीवन्त छ । वैचारिक र सैद्धान्तिक ज्ञान आर्जन गर्ने सम्बन्धमा उदासीनता छ । खोज, अनुसन्धान, छलफल, विमर्श गर्दै चेतनालाई माथि उठाउन प्रयत्न गर्ने प्रवृत्ति हराउँदै जान थालेको छ । वर्तमान अवस्थाको राजनीतिक पथ तथा दृष्टिकोण कस्तो छ र हुनुपर्छ ? देशले भावीपथ कस्तो पहिल्याउनु पर्छ ? र हामीले त्यसमा के योगदान दिन सक्छौं भन्नेबारे गहन अध्ययनविना सम्भव छैन । ‘ज्ञानादृतेः न मुक्तिः’ भने झैं स्वतन्त्रताको प्राप्ति ज्ञानविना सम्भव छैन भन्ने बुझ्नु जरुरी छ । त्यसैले पठन संस्कृतिको विकास गर्नु पर्छ । ‘नजानिकन जान्ने टोपलिनु हुन्न’ भन्ने उखानले पनि ज्ञान आर्जनलाई नै जोड दिएको छ । माओले भनेको ‘तथ्यबाट सत्य पत्ता लगाउने वा व्यवहारबाट ज्ञान र ज्ञानबाट व्यवहारमा जाने’ कुरा पनि पठन सँस्कृति माथिकै जोड हो । ज्ञानको अभावकै कारण भौतिकवादीले पूजाआजा, कर्मकाण्ड, रुढिवाद, अन्धविश्वास अपनाएका हुन् । चेतनाले विश्व–ब्रह्माण्डको सिर्जना वा निर्माण गरेको हो कि ब्रह्माण्डीय पदार्थबाट जीव, चेतना, मन, सम्वेदना, धर्म, देवताको उत्पत्ति भएको हो भन्ने कुराको जरो नबुझेर नै कम्युनिष्टहरु धार्मिक बन्न गएका हुन् । परमाणुबाट वा जडवस्तुबाट जीवको उत्पत्ति भएको हो भन्ने सही ज्ञान हुने हो भने मानिसले अध्यात्मवादमा विश्वास गर्न सक्दैन ।
५) योजना निर्माण र कार्यान्वयनको समस्या : संगठनको दृष्टिकोण मात्र हैन कार्य योजना र गर्नु पर्ने गतिविधिबारे पनि स्पष्ट कार्यनीति हुनु आवश्यक छ । प्रथमतः एक कार्यकालभरि गर्ने कामको कार्य योजना बनाउनु पर्छ र त्यसको समय–सारिणी पनि । ‘जतिखेर जे लाग्यो गर्दै जाने’ प्रवृत्तिलाई विस्थापित गर्नु जरुरी छ । साथै वार्षिक कार्यतालिकामा कार्यक्रम विभाजन गर्नु र त्यसलाई पनि अझ सूक्ष्म विभाजन गरी यो दिनमा यो गतिविधि गर्ने भन्ने ठोस बनाउनु पर्छ । यसरी कार्यान्वयन गर्ने तरिकाले संगठन दरिलो, सुदृढ र व्यवस्थित हुन्छ । सबै आङ्गिक संगठनको पनि केन्द्रीकृत योजना र कार्यक्रमको कार्य तालिका बनाएर अनिवार्य लागु गर्नु जरुरी छ । अहिले तल बनाएका आङ्गिक संगठनका कमिटीहरु परिचालन नहुनु र बनाएर छोडेपछि फर्केर नजाने स्थिति योजनाभाव हो । प्रकाशन, कार्यक्रमहरुको प्रस्तुति, गोष्ठी, प्रशिक्षण, तालिम, प्रतियोगिता, प्रचार–प्रसार आदि सबैको कार्य योजना नबनाउने समस्याले सङ्गठनलाई घात गर्दै छ । केही बनेका, बनाइएका कार्यक्रम समेत कार्यान्वयन हुँदैनन् । अझ प्रकाशनको क्षेत्र त अत्यन्तै कमजोर छ ।
६) प्रविधि ज्ञान र उपयोगको समस्या : यो प्रविधिको युग हो । सामाजिक सञ्जालको उपयोग गर्न प्रविधि नजानेकै कारण वा त्यसको महत्व नबुझेका कारण अप्ठ्यारो छ । यसको प्रशस्त उपयोग हामीले गर्न सकेका छैनौं । यु–ट्युब, फेसबुक, ट्विटर, गुगल आदि चलाउने र तिनका माध्यमबाट प्रचार प्रसार गर्ने कुरा ल्यापटप उपयोग गर्ने कुरा, मोबाइलका विविध एप प्रयोग गर्ने कुरा, तिनका फाइदा जान्ने कुरा, डिजिटल युगका सिर्जनाहरुलाई तिनकै माध्यमबाट उपयोग गर्ने कुरा, बौद्धिक गतिविधि सञ्चालन गर्ने कुरा, वृत्तचित्र, लघु चलचित्र, नाटक, श्रव्यदृश्य सङ्गीत आदि तथा सही दार्शनिक ब्लगहरु सञ्चालनद्वारा सञ्चार सम्प्रेषण गर्ने कुरा आजको पुस्ताले जान्नै पर्ने कुरा हो । सम्पूर्ण प्राज्ञिक बौद्धिक गतिविधिलाई सोही माध्यमबाट व्यापक बनाउनु जरुरी छ । प्रचार प्रसारको समस्यालाई पनि सोही माध्यमबाट हल गर्न सिक्नै पर्छ । त्यसका लागि संगठनलेनै कार्यक्रम तर्जुमा गर्नु आवश्यक छ । तसर्थ प्रविधि प्रयोगमा जोड दिनु जरुरी छ ।
७) निराशावाद र अकर्मण्यताको समस्या : हामी क्रान्तिकारीमा आफूले श्रम गर्ने र श्रम गर्नेहरुलाई सम्मान गर्ने प्रवृत्ति हराउँदै जान थालेको छ । रातारात मालामाल बन्न चाहने प्रवृत्तिका कारण आचरणमा बेथिति मौलाएको छ भने भ्रष्ट संस्कृति, लोभी स्वार्थी प्रवृत्ति, सामूहिक भावनाको कमी, व्यक्तिवाद र व्यक्तिस्वार्थ हेर्ने प्रवृत्ति पनि मौलाएको छ । कमरेड्ली सहयोग गर्ने भन्दा छिर्के हानेर आफू लाभान्वित हुने प्रवृत्ति व्यापक बन्न थालेको छ । कमरेडहरु वीच एकता, एकरुपता, सहकार्य, सहयोग, सहिष्णुता भन्दा मौका छोपेर गिराउने व्यक्तिवादी अवसरवाद विरुद्ध साँस्कृतिक कर्मीहरु लाग्नै पछ । त्यो भएकै कारण एक्लै खाऊँ, एक्लै रमाऊँ, एक्लै फाइदा लिऊँ र निरन्तर मैले मात्रै लिऊँ भन्ने प्रवृत्ति जमेर उपयोग हुन थाल्नु चिन्ताको विषय हो । यसले नगर्नेले त कुरै छोडौं प्राप्त गर्नेले समेत निराशा, कुण्ठा, खिन्नता, पलायनको समस्या सिर्जना गरेको छ । पाउञ्जेल ठिक छ तर नपाउँदा बित्तिकै असन्तुष्टि व्यक्त गर्न सुरु भइहाल्छ । यसले संगठनलाई क्षयीकरण गर्दै लगेको छ । ठोस र मूर्त कार्यक्रम बनाउने, ठोस र मूर्त जिम्मेवारी तोक्ने ठोस र मूर्त मूल्याङ्कन गर्ने हो भने यस्ता समस्याको निराकरण गर्न सकिन्छ । हाम्रो मुख्य काम निष्क्रियता र निराशाबाट मुक्ति प्राप्त गर्नु हो ।
८) दक्षता र रातोपनको समस्या : जनयुद्धका दश वर्षमा समाहित भएकाहरुमा नै दक्षता र रातोपनवीच सन्तुलनको समस्या बढी देखिएको छ । दक्षता, योग्यता, क्षमता, शिक्षा आदि स्वयम् आफैले नै निर्माण गर्ने कुरा हो । व्यक्तित्वको निर्माणमा पनि स्वयम् आफ्नै मुख्य भूमिका रहन्छ । नैतिकता, इमान्दारिता, समर्पण जस्ता विषय पनि व्यक्तिमै निर्भर हुनेकुरा हुन्, कसैको उपदेशमा हैन । शिक्षा, ज्ञान, उपाधि हासिल गर्ने कुरा पनि व्यक्तिकै इच्छामा भर पर्छ । ज्ञान र शिक्षामा योग्यता हासिल नगरेकै कारण व्यक्तित्वको निर्माण नभएको हो भन्ने कुरा बुझ्नै पर्छ । त्यसै गरी संगठनले प्रशिक्षण, तालिम, बौद्धिक विकासका लागि आफ्ना कार्यकर्तालाई सहयोग र अवसर प्रदान गर्नु पर्छ । साहित्य सिर्जना, चित्रकला, सङ्गीत रचना, गायन, नृत्य आदिका लागि तालिम, स्कुलिङ, कार्यशाला, गोष्ठी, प्रशिक्षण, लेखन आदिमा उत्प्रेरित र उत्साहित गर्न जरुरी छ । सांस्कृतिक क्षेत्रको यो आफ्नै काम हो । यसरी मात्र लाल र निपुणको समस्या हल गर्न सकिन्छ । खुला समाजमा प्रतिस्पर्धा अनिवार्य हुन्छ । प्रतिस्पर्धामा अग्रणी हुनु, सामर्थ्यवान्, क्षमतावान्, योग्य र दक्ष, शिल्पी र साधक बन्नु पर्छ भन्ने हामीले बोध गर्नु आवश्यक छ ।
९) जनदिशा अवलम्बनको समस्या : माओले पार्टी र जनता माछा र पानीको सम्बन्धमा रहनु पर्छ भन्नुको कारण हो जनदिशाको बाटोमा समात्नु । जनतासंग टाढिंदै, ठालु हुँदै, नम्रता, विनयशीलता आदि भङ्ग गर्दै, बोलीबचनमा क्षुद्रता र क्रूरता प्रकट गर्दै, भाषामा अशिष्टता र रुखोपन देखाउँदै, जनताभन्दा आफूलाई उपल्लो श्रेणीको ठान्ने र अझ देवत्वकरण गर्ने प्रवृत्तिले संगठन क्षीण हुँदै गएको छ । हाम्रा कार्यशैली, जीवन शैली, लबाइ–खबाइमा तडक–भडक, शौखिन र विलासी बन्ने प्रवृत्तिले जनतामा हामीप्रति वितृष्णा, घृणा, असन्तुष्टि, उदासीनता र उदेक पैदा गरेको छ । खास गरी धनोर्पाजन र आर्थिक व्यवस्थापनमा सबै नैतिक मूल्य र आदर्श, इमान र धर्म, सदाचार र शीलता त्याग गरेर भए पनि कमाउने सोंच विकसित हुदै जानु खतरनाक छ । जसले जनदिशाको धज्जी उडाएको छ । हामी आफ्नो वर्गीय धरातल बिर्सिन थालेका छौंं । यसलाई सच्याएर मात्रै जनतासितको सम्बन्ध गाँसिन सक्छ । जनता हाम्रो वर्ग शक्तिको धरातल हो । त्यसलाई नै विर्सन थालेपछि हामी हावामा हुनेछौं, यथार्थमा हैन ।
१०) आर्थिक समस्या : संगठनका प्रत्येक गतिविधि गर्न आर्थिक व्यवस्थापन जरुरी छ । आयस्रोत जुटाउने र आयआर्जन वृद्धिका उपाय अवलम्बन महासङ्घले संस्थागत रुपमा गर्र्नै पर्छ । अन्यथा संगठन चलाउन सकिंदैन । तर हिंजो झैं मागेर, चन्दा उठाएर, सापटी माग्दै फिर्ता नगरेर, ऋण लिएको चुक्ता नगरेर अब सुख पाउने अवस्था छैन । तसर्थ आफै आफ्नो संगठन सञ्चालन गर्न आयस्रोत बनाउनै पर्छ । लेबी, विशेष लेबी अनिवार्य र नियमित तथा निरन्तर गर्न जरुरी छ साथै पारदर्शी र अभिलेखमा पनि हुनै पर्छ । लेबी अनिवार्य बैंंकमा जम्मा गर्ने, नगद खर्च नगर्ने (किनकि विना निर्णय नगद खर्च गर्नु पनि भ्रष्टाचार हो), निर्णय गरेर मात्र खर्च गर्ने, सानातिना खर्च गर्नु पर्दा सोधेर मात्र गर्ने, बिल भरपाई अनिवार्य गर्ने, आय–व्ययको आन्तरिक लेखा परीक्षण गर्ने, हरेक खर्चलाई बैठकबाट अनुमोदन गराउने, गरेर मात्र आर्थिक पारदर्शिता हुन सक्छ । यदि खर्च रकमबारे चित्त नबुझे भित्रभित्रै नेतृत्व बदनाम हुने कार्यकर्ताले नेतृत्वलाई खुइल्याउने, कुरा काट्ने प्रवृत्ति बढ्छ । भनिन्छ–‘आर्थिक पक्ष र यौन पक्षमा अपारदर्शी व्यक्ति क्रान्तिकारी हुनै सक्दैन’ । आर्थिक खर्चबारे आन्तरिक लेखा परीक्षण गराउने स्थिति बसाल्नै पर्छ । संगठनले एउटा अक्षयकोष स्थापनाको गरी विभिन्न सहिदका नाममा त्यसको ब्याजले प्रत्येक वर्ष राष्ट्रिय पुरष्कारहरु दिने व्यवस्था पनि गर्नु आवश्यक छ । यस्ता धेरै अन्य ठुला–साना आर्थिक समस्याहरु छन् तिनलाई हल गर्दै जानु पर्छ । जसले संगठनलाई प्रभावशाली ढङ्गले विकास, विस्तार, सुदृढीकरण गर्नेछ ।
भावी कार्य–योजनाबारे :
१) वैचारिक काम : संगठनलाई मजबूत पार्दै वैचारिक–सैद्धान्तिक स्पष्टता र प्रतिबद्धता विकसित गर्न विचार पक्षलाई जोड दिनै पर्छ । यसका लागि वैचारिक स्कुलिङ, प्रशिक्षण र कार्यशाला सातवटै प्रदेशमा, प्रदेशगत रुपमा, प्रशिक्षक तयार गरी तलसम्मका नयाँ पुस्तालाई दीक्षित पार्नु जरुरी छ । जनयुद्धका उपलब्धि, संगठनको सैद्धान्तिक लाइन, भविष्यको गन्तव्य दिशा, समाजवादी आधार निर्माणका लागि सँस्कृति र सांस्कृतिक दृष्टिकोणमा स्पष्टता हुनु जरुरी छ । यही वैचारिक काम पनि हो । भौतिकवाद–अध्यात्मवाद, संशोधनवाद र नवमाक्र्सवाद, राष्ट्रियता र स्वाधीनता, साम्राज्यवाद र विस्तारवाद, दुश्मन शक्ति र मित्रशक्ति, अरु पार्टी र हाम्रो पार्टीवीच फरक लाइनबारेका विषयहरुमा स्कुलिङ चलाउनु पर्छ । हरेक छ महिनामा स्कुलिङ् चलाउने व्यवस्था मिलाउनु पर्छ । पाठ्यक्रम बनाएर दिनुका साथै अध्ययनका लागि सन्दर्भ कृतिहरुको जानकारी, उपयुक्त प्रकाशन तथा ठाउँठाउँमा पुस्तकालयहरु स्थापना गर्नु पनि उत्तिकै जरुरी छ ।
२) साङ्गठनिक काम : संगठनलाई अनिवार्य रुपमा व्यवस्थित गर्नुपर्छ । सोको लागि तालिका बनाई छलफल चलाउने परम्परा विकसित गर्ने, तलसम्म संगठन पुर्याउन निरन्तर पहल लिंदै बनेका संगठनलाई वैचारिक ताजगी प्रदान गर्ने, सङ्गीत, कला, साहित्य, वाङ्मय, भाषा, चलचित्र, वृत्तचित्र, गीती श्रव्यदृश्य उत्पादन गर्दै संगठनलाई निरन्तर कार्य योजनाद्वारा सक्रिय र प्रतिस्पर्धी बनाउनु पर्छ । संगठनहरुलाई झन्झटिला, भद्दा, अनियन्त्रित, अनुशासनहीन, ठुलाठुला नबनाई चुस्त–दुरुस्त पार्नु पर्छ । पालिका, जिल्ला, प्रदेश, केन्द्रीय परिषद् र केन्द्रीय समिति निर्माण गरेपछि छिटो–छरितो पार्न सचिवालय र कार्यालय बनाएर अघि बढ्नु जरुरी छ । त्यसै गरी आङ्गिक संगठनहरुमा साङ्गीतिक परिवार बनाउने, साहित्यिक अध्ययन समूह बनाउने, ललितकलाको ‘एक्सन टिम’ बनाउने र कार्ययोजना दिई क्रियाशील बनाउने तथा सक्रिय रुपमा परिचालन गर्न केन्द्रीय समितिहरुलाई जिम्मा दिनु जरुरी छ । त्यस्तै एउटा सांस्कृतिक संस्था दर्ता गरी वैधानिक रुपमा बजेट प्राप्त गर्न वा विनियोजन गराउन पनि पहल गर्नु पर्छ । हरेक ठाउँमा वाद्यवादक, गायक, संगीतकार, लेखक, अभिनेता, चित्रकार, कार्टुनिष्ट आदि विषयका क्लबहरु गठन गर्ने योजना बनाउनु पर्छ । आङ्गिक संगठनलाई तलका संगठन परिचालनको जिम्मेवारी पूरा गर्न लगाउनु पर्छ । संगठनहरुमा निरन्तर तदारुकता र गतिशीलता अत्यन्त जरुरी विषय पनि हो ।
३) प्रकाशनको काम : सहिदहरुका रचनाहरु संकलन, खोज गरी प्रत्येक वर्ष एउटा प्रकाशन अनिवार्य गर्ने, नियमित रुपमा मुखपत्र त्रैमासिक रुपमा प्रकाशन गर्ने, एउटा अनुसन्धानात्मक पत्रिका प्रकाशन गर्ने, नयाँ सँस्कृति पत्रिकालाई नियमित गर्ने, जनयुद्धका कथा, कविता, संस्मरण, गीत, नाटक, उपन्यास, निबन्ध आदि ग्रन्थ प्रकाशन गर्ने, सौन्दर्य चिन्तन तथा समालोचनाका कृति वा ग्रन्थहरु प्रकाशन गर्ने, वैचारिक र सांस्कृतिक लेखहरु सम्पादन तथा प्रकाशन गर्ने जस्ता प्रकाशन कार्य वार्षिक रुपमा गदै जार्नु जरुरी छ । त्यसैगरी श्रव्यदृश्य, वृत्तचित्र, लघु फिल्म, ठुला फिल्म निर्माण गर्ने । गीत सङगीतका क्षेत्रमा पनि अडियो, भिडियोहरु प्रकाशन गर्ने । जनयुद्धको र प्रगतिशील गीतहरुको इतिहास लेखन गरी प्रकाशन गर्ने । सामन्तहरु र राजावादी शक्तिहरुले सुनियोजित ढङगले वलिदानको अपमान गर्ने, पार्टी तथा नेतृत्वलाई बदनाम गर्ने, जनयुद्धलाई विद्रूपीकरण र भ्रष्टीकरण गर्ने, आन्दोलन विरोधी चेतना फैलाएर जनतामा भ्रम सिर्जना गर्ने जस्ता प्रचारप्रसारलाई विस्थापित गर्दै सांस्कृतिक हस्तक्षेप बढाउने । सँस्कृतिको नवीकरण गर्न विभिन्न अभियान चलाउने । रेडियो, चलचित्र आदिलाई पनि उपयोग गर्दै जनयुद्ध, जनान्दोलन, वलिदान, त्याग, पार्टी तथा नेताका विरुद्ध चलाइएका भ्रम र हल्लालाई चिरफार गर्दै प्रतिरोध गर्ने ।
४) सम्मान र पुरष्कार : साहित्य, संस्कृति , कला, गीत–सङ्गीत, नृत्य, नाटक, अभिनय आदि विधाका पुरष्कार सहिदहरुका नाममा स्थापना गर्दै प्रतियोगिताहरु मार्फत प्रदान गर्ने, विशिष्ट साधकहरुको सम्मान गर्ने, प्रत्येक प्रदेशमा एक–एकवटा सहिद पार्कहरु निर्माण गर्दै सहिदहरुको अमरत्व स्थापित गर्ने, सहादत र वलिदानका नाममा सडकतथा अन्य संरचनाहरुको नामाकरण गर्ने । यसका लागि प्रदेश निकायमा दवाब सिर्जना गर्न जरुरी छ ।
५) सांस्कृतिक कार्यक्रम : प्रतिष्ठान र सांस्कृतिक संस्थानसंग सहकार्य गरी साहित्य, गीत–संगीत, कलाका राष्ट्रिय स्तरका महोत्सव आयोजना गर्ने । प्रदेशगत रुपमा सांस्कृतिक अभियान चलाउने । मूर्ति र चित्रकलामा कार्यशाला आयोजना गर्ने, नृत्य प्रशिक्षण शिविर सातै प्रदेशमा चलाउने । कविता, गीत, नृत्य, वक्तृत्वकला आदिको प्रतियोगिता आयोजना गर्ने । जनवादी संस्कृतिबारे बहस, विमर्श, गोष्ठी गर्ने ।
६) प्रतिष्ठानका काम : सातवटै प्रदेशमा प्रदेशगत विभिन्न प्रतिष्ठानहरु गठन गर्दै सञ्चालन गर्ने । तिनका आजीवन सदस्यहरु बनाउने । योजना र कार्यक्रम ठोस र मूर्त गरी कार्यान्वयन गर्ने । प्रदेशमा कम्तीमा एक–एकवटा सहिदका स्मारक, गणतन्त्र स्मारक, स्तम्भ, द्वारहरु निर्माण गर्न पहल गर्ने । जनयुद्ध, सहादत, परिवर्तन, वलिदान आदि विषयका साथै देशप्रेम, देशभक्ति र राष्ट्रियताले ओतप्रोत गीतहरु बनाउने, जनयुद्धका उपलब्धि र सहिदका सपनाहरुका गीत लेख्ने प्रतिस्पर्धा गराउने र उत्कृष्ट तथा कर्णप्रिय सङगीत हालेर प्रकाशन तथा प्रचार प्रसार गर्ने तिनमा उत्कृष्टलाई पुरष्कृत गर्ने । वरिष्ठ कलाकारहरुलाई शास्वत, सार्वभौम, सशक्त गीत–सङ्गीत निर्माण गर्न प्रोत्साहन गर्ने । महिला हिंसा, बाल विवाह, बोक्सी र दाइजोप्रथा, बाल चेतनामूलक नाटकहरुको प्रदर्शनले सामाजिक चेतना जगाउन पहल गर्ने । वृत्तचित्र, लघु चलचित्र तथा ठुला चलचित्र निर्माण गर्न चलचित्र सङ्घलाई जिम्मा दिंदै युट्युबमा व्यापक हस्तक्षेप पु¥याउने । दर्शन, विचार, दृष्टिकोण, इतिहास आदिका ‘न्यारेशन अडियो’ तयार गरेर प्रचार गर्ने, अन्य विभिन्न आङ्गिक संगठनका पनि काम तोकेर परिचालित गर्ने । उत्कृष्ट कृतिहरुलाई पुरस्कृत गर्ने र प्रोत्साहन दिने आदि कामहरु प्रतिष्ठानहरु दर्ता गर्दै तीमार्फत गर्ने गराउने कार्य अबलम्बन गर्न जरुरी छ ।
७) आन्दोलनका काम : संस्कृति र कलाको प्रवद्र्धन गर्न, विभिन्न सुधारका काम गर्न, खराब सँस्कृति, परम्परा, चालचलन, सँस्कार, रुढिवादी प्रथा, अन्धविश्वास, कुरीतिहरु विरुद्ध बैधानिक आन्दोलन गर्ने, माग राखेर मागपत्र दिने, सम्बन्धित निकायमा दबाव दिने काम गर्नु पर्छ । समाजवादी सँस्कृति निर्माणका लागि विभिन्न नाराहरु बनाई विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने । साँस्कृतिक विकृति र विसङगति विरुद्ध आन्दोलन चलाउने आदि ।
८) समीक्षा र मूल्याङ्कन : सातौं राष्ट्रिय सम्मेलनले निर्धारण गरेका कामहरुको समीक्षा गर्दै कुन योजना पूरा भए र कुन भएनन्, किन भएनन् भन्नेबारे मूल्याङ्कन गर्नु पर्छ । वस्तुगत र कार्यान्वयन हुनसक्ने खालका कार्य योजना बनाउनु पर्छ भन्ने पाठ लिने र वस्तुगत कार्यक्रम तर्जुमा गर्ने । विगतका गल्ती कमजोरीहरुको समीक्षा गरी नयाँ बनाउँदा त्यस्ता गल्ती कमजोरीहरु नदोहोरियून् भन्ने ध्यान दिने ।
उपरोक्त महत्वपूर्ण समस्याहरुमाथि ध्यान दिंदै र सच्याउँदै नयाँ कार्ययोजना मार्फत नयाँ संस्कृति निर्माणमा अघि बढ्नु नै जनसाँस्कृतिक महासङ्घको आगामी कार्ययोजनाको रुपरेखा हुनसक्छ ।
९) निष्कर्ष : जनसांस्कृतिक महासङ्घ सांस्कृतिक आन्दोलनको अभिकर्ता हो । तसर्थ नयाँसंस्कृतिको जग बसाल्न यसले नै पहल लिने हो । परिवर्तन विरोधीहरुप्रति निशाना साध्दै सम्मेलनले ठोस बाटो पहिल्याउनेछ । सामन्तवाद, साम्राज्यवाद र विस्तारवादसित गाँसिएर आएको दलाल पुँजीवाद, नोकरशाही पुँजीवाद, व्यापारिक पुँजीवाद विरुद्धको निशाना नै अबको बाटो हो जसले सामाजवादी समाजका लागि जग बसाल्नेछ । समाजवादको बाटो राष्ट्रिय पुँजीपति वर्गको उत्थान, संरक्षण, राष्ट्रिय पुँजीको विकास, औद्योगीकरण, आत्मनिर्भर अर्थतन्त्र, स्वदेशी उत्पादनमा वृद्धि, युवाहरुको व्यवसायीकरण, जलस्रोत–कृषि–पर्यटनवीच उन्नयनमा सामञ्जस्य आदि गरेर मात्र निर्मित हुन सक्छ । त्यसको लागि सांस्कृतिक क्षेत्रले योगदान पुर्याउन सांस्कृतिक रुपान्तरणको गतिविधि गर्नु जरुरी छ । सांस्कृतिक रुपान्तरण आफू, आफ्नो मोर्चा, आफ्नो दलीय शक्ति, सम्पूर्ण नेता तथा कार्यकर्ता पङ्क्तिलाई रुपान्तरण गर्ने अभियानद्वारा गरिनु आवश्यक छ । हामी भित्रका विकृति, विसङ्गति, विचलन विरुद्धको अभियान नै त्यस्तो अभियान हो । अबको सांस्कृतिक आन्दोलन प्राप्त उपलब्धिमाथि टेकेर, प्राप्त परिवर्तनलाई जोगाउँदै, जनदिशाको बाटो समाती अघि बढ्नका लागि हुनु पर्छ । सही विचारको आलोकमा सही कार्यनीति र कार्यदिशालाई द्वन्द्ववादी शैलीमा लागु गर्न सके चुनौतीहरुको सामना गर्न सम्भव छ । यो सम्मेलनले त्यही सफलता प्राप्त गर्नेछ ।
000
मातृका पोखरेल
अध्यक्ष
जनसांस्कृतिक महासङ्घ, नेपाल
No comments:
Post a Comment