Monday, December 27, 2021

माओवादी महाधिवेशनमा ‘समाजवादी यात्रा’ कला प्रदर्शनी

काठमाडौं । ‘समाजवादी यात्रा’ शीर्षकमा करिब दुई दर्जन कलाकारका कलाकृतिको प्रदर्शनी सुरु भएको छ । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा पाँचदिने प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति राखिएको छ । प्रदर्शनीमा अग्रज कलाकार जुलुमलाल चित्रकार, नारदमणि हार्तम्छाली, लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशव राज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार राना मगर, राजकुमार खड्का, लिलाधर केसी अमर परियार, अमिर शाक्य, खेम बिक, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेल लगायतका कलाकारका तीन दर्जन बढी कलाकृति रहेका छन् ।


अखिल नेपाल ललितकला संघको संयोजनमा भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको छ । संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले पार्टीको महाधिवेशनको सन्दर्भमा गरिएको कला प्रदर्शनीले नेपाली समाजको बहुआयामिकतालाई कलात्मक रुपमा उधिनेको बताए । उनले भने, ‘समाज रुपान्तरणका लागि कलाकारले कलामार्फत आफ्नो सिर्जनात्मक अभिव्यक्ति दिएका छन् । साथै नेपालको परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलक कलाकृतिमा आएको छ ।’


नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशव राज खनालले नेपालमा समाजवादको विषय लिएर गरिएको पहिलो कला प्रदर्शनी रहेको धारणा व्यक्त गरे । उनले कलामार्फत राजनीतिक दिशा र परिवर्तनको विषयलाई कलाकारले कलाकृतिमार्फत प्रस्तुत गर्न सफल भएको जिकिर गरे । खनालले थपे, ‘देशलाई समृद्धि दिशातर्फ लैजान राजनीतिक नेतृत्वले विशिष्ट भूमिका खेल्नुपर्छ भन्ने सन्देश कलामा आएको छ । साथै प्रदर्शनीमा राखिएका कलामा नेपालको गणतान्त्रिक यात्राको प्रसंगलाई समेत कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।’

प्रदर्शनीका लागि बुटवलबाट आएका कलाकार तथा अखिल नेपाल ललितकला संघ लुम्बिनी प्रदेश अध्यक्ष खेम बिकले सामाजिक न्यायसहितको समाजको परिकल्पना गरिएका कलाकृति प्रदर्शनीको मुख्य आकर्षक रहेको बताए । उनले नेपाली समाजमा चेतना भर्ने माओवादी आन्दोलनको विषयलाई कलाकारले निकै गहनताका साथ उठान गरेको विचार व्यक्त गरे । प्रदर्शनीमा परम्परागत थाङ्का तथा पौभा शैलीमा समाज परिवर्तन र सामाजिक न्यायको समसामयिक विषयलाई समेत कलात्मक रुपमा चित्रण गरिएको छ । शैलीका दृष्टिले नयाँपनको झल्को दिने गरी कलाकारले चित्र बनाएको सोफाजका अध्यक्ष खनालले बताए । उनले नेपालमा चलिरहेका कलाका शैलीमा यसरी सामाजिक न्यायका विषयलाई थाङ्का पौभा शैलीमा उतारेर कलाकारले नयाँपन दिन खोजेको जिकिर गरे । प्रदर्शनीमा अग्रज थाङ्का कलाकार लालमान लामाले उज्यालो यात्रा शीर्षकमा तयार पारेको चित्र प्रदर्शनीको आकर्षण बनेको छ । उनले नेपालको वर्गसंघर्ष या अन्य राष्ट्रभक्तिका आन्दोलन र युद्धमा नारीको सहभागिता र उनीहरुको योगदानको विषयलाई समेत चित्रमा उतार्ने कोशिस गरेको बताए । उनले भने, ‘नालापानी युद्धदेखि माओवादीले सुरु गरेको जनयुद्धमा महिलाको विशिष्ट र बहादुरीपूर्ण योगदान रहेको छ । मैले चित्रमा त्यो प्रसंगलाई उतार्ने जमर्को गरेको हुँ ।’

० प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति राखिएको छ
० कलामा मजदूर, किसान, न्यायपूर्ण आन्दोलन र समानताका विषयलाई निकै बोधगम्य रुपमा उतारिएको छ
० सामाजिक रुपान्तरण र अग्रगामी राजनीतिक आन्दोलनलाई कलाकृतिमार्फत कलाकारले सैद्धान्तिक आधार दिने प्रयत्न गरिएको छ

पौभा शैलीमा राजनीतिक तथा सामाजिक विषयमा कलाकार राजकुमार राना मगर, अमिर शाक्यले निकै आकर्षक चित्र बनाएका छन् । उनीहरुका कलामा मजदूर, किसान, न्यायपूर्ण आन्दोलन र समानताका विषयलाई निकै बोधगम्य रुपमा उतारिएको छ । यस्तै, कलाकार पाल्साङ्मो लामा, झिग्मे लामा, कमानसिंह लामा तथा निरीमाया लामाले थाङ्का शैलीमा नयाँ कला शैलीको आरम्भ गरेका छन् । यो महाधिवेशनले नेपाली कलामा नयाँ बहस छेडेको प्रदर्शनीमा सहभागी कलाकार तथा संघका केन्द्रीय सचिव निरीमाया लामाले बताइन् । उनले नेपाली समाजको अग्रगामी रुपान्तरणका लागि योगदान दिने सबै सहिद, बेपत्ता तथा घाइते योद्धाको सम्मान गर्दै आगामी दिनमा सिर्जनामार्फत संघले काम गर्ने प्रतिबद्धता जनाइन् ।


मुगुका कलाकार तथा संघका कर्णाली प्रदेश सहसंयोजक झिग्मे लामाले समाजवादी यात्राको पदचाप शीर्षकमा मुगाली शैलीमा हिमाली परिदृश्य र समाजलाई उतारेको चित्र प्रदर्शनीमा राखेको बताए । उनले नेपाललाई शान्ति र समृद्धिको दिशामा लैजाने राजनीतिको नेतृत्व गरेको पार्टीको महाधिवेशनमा कलाकारलाई कला प्रदर्शनीको अवसर दिएर माओवादीले राम्रो काम गरेको सुनाए । संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले प्रदर्शनीमा तराई मधेश, पहाड तथा हिमाली परिवेशका विविध आयाम झल्किने कलाकृति राखिएको जानकारी दिए । उनले नेपालको समाजवादी यात्राका लागि यो कला प्रदर्शनी कलाका दृष्टिले कोशेढुंगा सावित हुने जिकिर गरे । उनले नेपालमा समाजवादी कलाको यो प्रदर्शनी पहिलो भएको दावीसमेत गरे ।

संघका केन्द्रीय उपाध्यक्ष प्रदीप अधिकारीले सामाजिक रुपान्तरण र अग्रगामी राजनीतिक आन्दोलनलाई कलाकृतिमार्फत कलाकारले सैद्धान्तिक आधार दिने प्रयत्न गरेको विचार राखे । उनले भने, ‘नेपालको प्रगतिशील तथा समाजवादी कला आन्दोलनका लागि यो प्रदर्शनी कोशेढुंगा सावित हुनेछ । साथै यसप्रकारको प्रदर्शनी नेपालमा पहिलो पटक भएको हो ।’ प्रदर्शनीमा कलाकार रविन्द्र श्रेष्ठले जनमुक्ति सेना र नेपाली सेनाको रगतबाट बनाएको चित्रले शान्ति समायोजनको विषयलाई कलात्मक रुपमा प्रस्तुत गरेको छ । कलाकार श्रेष्ठ शान्ति समायोजनपछि नेपाली समाजले समृद्धिको यात्रामा फड्को मार्ने भएकाले त्यस दिशामा अग्रसर हुन राजनीतिक दललाई आग्रहसमेत चित्रमार्फत गरेका छन् ।

000

www.souryaonline.com  बाट साभार 

सौर्य अनलाइन२०७८ पुष १२ गते  प्रकाशित


































































































































नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम नेतृत्वमा रहनुभएका  कमरेडहरू द्वारा प्रदर्शनी अवलोकन 

No comments:

Post a Comment