Sunday, May 28, 2023

महान सहिद कृष्ण सेन 'इच्छुक'को २१औं स्मृति दिवस एवम् सांस्कृतिक बलिदान दिवस सम्पन्न



काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले समाजवादी मोर्चा बनाउन नेकपाका महासचिव नेत्रविक्रम चन्द्र विप्लव पनि सहमत रहेको बताएका छन् । समाजवादी मोर्चा निर्माणको प्रक्रियाले गति लिइरहेको उनको भनाइ थियो ।

२०८० साल जेठ १३ गते शनिबार पार्टी कार्यालय पेरिसडाँडामा जनसांस्कृतिक महासंघद्वारा आयोजित ‘सांस्कृतिक सहिद कृष्ण सेन इच्छुकको २१ औँ स्मृति तथा सांस्कृतिक बलिदान दिवस’ कार्यक्रममा बोल्दै महराले देशी विदेशी शक्ति समाजवादी मोर्चा बन्न नदिने चलखेलमा लागेकाले क्रान्तिकारी शक्तिहरू चनाखो बन्न जरुरी रहेको बताए ।

उनले कृष्ण सेन पत्रकार र साहित्यकार मात्रै नभएर राजनेता पनि भएको बताउँदै सेनको आदर्श क्रान्तिकारीहरूले भुल्न नहुने धारणा राखे । यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जनसांस्कृतिक महासङ्घका इन्चार्ज गोपाल ठाकुरले पार्टीले कृष्ण सेनको आदर्श भुल्न नहुनेमा जोड दिए ।

यस्तै माओवादी केन्द्रको प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले अहिले पार्टी विचार, सिद्धान्त र आदर्शमा स्खलित भएको उल्लेख गरे । उनले माओवादी आन्दोलनलाई पुनः उठाउन सांस्कृतिककर्मीहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

शर्माले कृष्ण सेन पत्रकार र साहित्यकार मात्रै नभएर कुशल नेता पनि भएको बताए । माओवादीभित्र समस्या रहेको सङ्केत गर्दै उनले उनले अहिले कृष्ण सेन जीवितै भएको भए पार्टीको बारेमा के कविता लेख्थे होला र कस्तो अभिव्यक्ति दिन्थे होला भन्दै प्रश्न समेत गरे ।

सो अवसरमा कृष्ण सेनले साहित्यमा पुर्‍याएको योगदानको सन्दर्भमा जनसांस्कृतिक महासंघका पूर्व अध्यक्ष साहित्यकार ईश्वरचन्द्र ज्ञवाली र जनसांस्कृतिक महासंघका अध्यक्ष साहित्यकार मातृका पोखरेलले विवेचना गरेका थिए ।कार्यक्रममा अतिथिका रूपमा प्रदेश सभाका माननीय सांसद क. दीपेन्द्र पुन 'सिर्जल', भाषा आयोगका माननीय सदस्य गोपाल अस्क, र भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्टको समेत उपस्थिति थियो । यस्तै सो अवसरमा केशव सिलवाल, डा. पुष्करराज भट्ट, स्वप्निल स्मृति , प्रथा ,लक्ष्मी रुम्बा, पारस ढकाल लगायत एक दर्जन भन्दा बढि कविहरूले कृष्ण सेनका कविता सुनाएका थिए । कार्यक्रममा जनसांस्कृतिक महासङ्घका उपाध्यक्षद्वय प्रगती महरा , कर्ण बिद्रोही , सचिव केशरी घर्ती , जनकलाकार सङ्घका अध्यक्ष धनु ज्ञाङमी , सामना परिवार की पूर्वगायिका शारदा लिम्बुले इच्छुकको संम्झनामा गीत प्रस्तुत गरेका थिए । जनसांस्कृतिक महासङ्घका कार्यवाहक अध्यक्ष भीम मल्लको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई जनसांस्कृतिक महासङ्घका महासचिव सुबर्ण हमालले संचालन गरेका थिए ।

000 

----------------------------------------

कार्यक्रमका केही तश्वीरहरू 


No comments:

Post a Comment