Wednesday, December 22, 2021

ललितकलामा पाल्साङ्मो

काठमाडौं । अखिल नेपाल ललितकला संघको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पाल्साङ्मो लामासहित ३७ सदस्य निर्विरोध निर्वाचित भएका छन् । संघको बुधबार बौद्धमा भएको सम्मेलनबाट उपाध्यक्षमा प्रदीप अधिकारी ‘सुशान्त’, होमबहादुर तामाङ र सौरगंगा दर्शनधारी, महासचिव केशव खनाल, सचिवमा थिरमाया लामा र कोषाध्यक्षमा राजकुमार राना मगर निर्वाचित भएका छन् । यस्तै, सदस्यमा कमानसिंह लामा, लालमान लामा, भीम लामा, नरेश थुलुङ, अशोक लामा, दिर्घ ब. तामाङ, संघराम महर्जन, गंगा हिमाली, शिव शेर्पाली, खेम बिक, भीमबहादुर सिंह, जिडी सारु, रञ्जु पुलामी, झिग्मे तामाङ, दिनेश्वर महतो, वेतबहादुर वाइवा (मनिष), लक्ष्मण दोङ, प्यारोलाल लामा तामाङ, वीर ब. तामाङ, वीरमान सिंह तामाङ (विष्णु) लगायत रहेका छन् ।


सम्मेलनको उद्घाटन गर्दै जनसांस्कृतिक महासंघ नेपालका पूर्वअध्यक्ष मातृका पोखरेलले नेपालको ललितकलाको विकास, प्रवद्र्धन र संवद्र्धनको दिशामा संघले काम गर्दै आएको बताए । उनले नेपालको प्रगतिशील सांस्कृतिक रुपान्तरणमा ललितकला विधाले विशिष्ट भूमिका खेल्दै आएको सुनाउँदै आगामी दिनमा अझै घनिभूत ढंगले सिर्जनात्मक काम गर्नुपर्ने विचार व्यक्त गरे । पोखरेलले समाज रुपान्तरण तथा राजनीतिका विकृति विसंगतिका विरुद्ध कलाकर्मीले आवाज उठाउनुपर्ने जिकिर गर्दै संघले नेपाली ललितकलाको समग्र विकास र विस्तारका लागि योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए ।

अग्रज कलाकार प्राज्ञ मानबहादुर दोङले नेपाली ललितकलाको विकासमा राज्यले विशिष्ट भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘नेपालमा प्रचलित कलालाई मूलप्रवाहमा ल्याइ तिनमा प्रगतिशील रुपान्तरण गरिनुपर्दछ ।’ यस्तै, अग्रज कलाकार नारदमणि हार्तम्छालीले राजनीतिसँग कलाले गति समात्न सक्नुपर्ने धारणा राख्दै समाज रुपान्तरणमा संस्कृतिको भूमिका अहम् रहने विचार राखे । कलाकार तथा नेपाल तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङले कला र संस्कृतिको विकासमा राज्यले ध्यान दिनुपर्ने बताए । उनले नेपालमा कलालाई हेर्ने दृष्टिकोण बदलिनुपर्ने जनाउँदै राजनीतिले समेत कलालाई उचित ढंगले समेट्न नसकेको जिकिर गरे । नेपालमा प्रचलित सबै कलाको विकास र संवद्र्धनमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउँदै नवनिर्वाचित अध्यक्ष पाल्साङ्मो लामाले ललितकलाका सबै विधाको विकासका लागि संघले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नेपाल प्रचलित सबै प्रकारका कलाको खोज अनुसन्धान गर्दै राज्यको मूलप्रवाहमा ल्याउन संघले भूमिका खेल्ने छ ।’

000

www.souryaonline.com बाट साभार 



No comments:

Post a Comment