Thursday, September 15, 2022

कुस्मिताको एकल गायन

 काठमाडौं । जनगायिका कुस्मिता दर्लामी (हिराकुमारी दर्लामी) को एकल गायन सम्पन्न भएको छ । बुधबार जमलस्थित राष्ट्रिय नाचघरमा भएको एकल गायनमा उनले १२ वटा गीत प्रस्तुत गरिन् । जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा जनगायिका दर्लामीले अमर गिरीको शब्द तथा शम्भु अमात्यको संगीत रहेको ‘सुन्दर क्षितिज’, रायनको शब्द तथा संगीत रहेको ढुंगाको शालिक, शरद पौडेलको शब्द तथा संगीत रहेको पानी परेर गीत प्रस्तुत गरिन् । ‘नेपाली क्रान्तिमा जनकलाकार’ भन्ने नाराका साथ गरिएको उक्त एकल गायनमा उनले कलाकार हिसान समालको शब्द तथा संगीत रहेका उकालीमा बिसाउने चौतारी, अविरल बग्ने झर्ना खोली, मैले बोल्दा सँगै रोइदिन्छ भीर पहरा लगायतका गीत गाइन् । साथै उनले मगर भाषाको किसान मजदुर, मैथिली भाषाको फाटल पहिरवे, चौरी गोठमा, नहुने के रै’छ र माझी दाइ बोलका गीतसमेत प्रस्तुत गरिन् । उनलाई भागीरथ सुस्लिङले किबोर्ड, सुरज श्रेष्ठले बेस गितार, राजकुमार समालले गितार, राम सुस्लिङले ढोलक, सुनिल बर्देवाले तबला, पूर्ण थापाले बाँसुरी र पदम क्षेत्रीले ड्रममा साथ दिएका थिए ।

सो कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन श्रेष्ठले जनगायिका कुस्मिता राम्रो स्वर भएकी प्रतिभाशाली कलाकार भएको बताए । उनले जनताले कुस्मिताको स्वरलाई अझै लामो समयसम्म सुनिरहन पाउन भन्ने कामना गर्दै जनताको दुःखबाट पछि नहटी अगाडि बढ्न आग्रहसमेत गरे । कुलपति रायनले भने, ‘संगठित रुपले जनताका लागि योजनाबद्ध तरिकाले कलाकारले अझै प्रभावकारी सांगीतिक यात्रालाई अगाडि बढाउनु पर्दछ । साथै यसको दीगोपनका निम्ति तपाई हामीले व्यवस्थित ढंगले कामसमेत गर्नुपर्दछ ।’ जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष मातृका पोखरेलले करिब तीन दशकदेखि जनगायिका कुस्मिता दर्लामीसँगै सांस्कृतिक आन्दोलनमा सहभागी हुने अवसर पाएको बताए ।

उनले भने, ‘जनगायिका कुस्मिता मौलिक आवाज र जनताका पीरव्यथालाई सांगीतिक धुनमार्फत गायकी प्रस्तुत गर्ने प्रतिभाशाली कलाकार हुनुहुन्छ । उहाँ साँच्चिकै जनताको कलाकारका रुपमा परिचित हुनुहुन्छ ।’ पोखरेलले जनता जगाउने अभियानमा कुस्मिताले गायनमार्फत विशिष्ट भूमिका खेलेको बताए । महासंघका केन्द्रीय सचिव हिसान समालले नेपालको युगान्तकारी परिवर्तनमा कलाकारले महत्वपूर्ण भूमिका खेलेको बताए । उनले जनगायिका दर्लामीले जनताका आवाजलाई तीन दशकदेखि प्रस्तुत गर्दै आएको सुनाए ।

महासंघका महासचिव सुवर्ण हमालले कलाकारले युग बदल्न, जनता जगाउन र क्रान्ति एवं आन्दोलनलाई सशक्त बनाउन विशिष्ट योगदान दिएको बताए । उनले जनगायिका कुस्मिताले नेपाली जनताका पक्षमा गीत गाउँदै आएको जिकिर गरे । सो कार्यक्रममा जनगायक जीवन शर्मा, कर्ण विद्रोही, प्रगति महरा, श्याम तमोट, उदय श्रेष्ठ, हेमराज आश्रम, चिरन पुन, केशरी घर्ती मगर, शारदा लिम्बू, लक्ष्मी गुरुङ, सुशिलसिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो । यस्तै, मधेस प्रदेशका गृहमन्त्री भरत साह, राष्ट्रियसभाका पूर्वउपाध्यक्ष शशिकला दाहाल, भाषाविज्ञ डा. गोपाल ठाकुर, समालोचक इश्वरचन्द्र ज्ञवाली, अग्रज कलाकार जुलुमलाल चित्रकार, मानबहादुर दोङ, पाल्साङ्मो लामा, भाषा आयोगका सदस्य गोपाल अश्क लगायतको उपस्थिति रहेको थियो ।

वि.सं. ०३८ सालमा भीमेश्वर–८ सिन्धुलीमा जन्मिएकी गायिका दर्लामीको गायनयात्रा ०४७ सालदेखि सुरु भएको हो । हाल जनसांस्कृतिक महासंघ नेपालको केन्द्रीय सदस्य रहेकी उनले ०५४ सालदेखि हिसन समालको नेतृत्वमा बनेको इन्कलाब परिवारमा आबद्ध भई नेपालको रुपान्तरणकारी आन्दोलनमा पूर्णकालीन रहँदै आएकी थिइन् । गायनसँगै गायिका दर्लामीले ‘मन्त्रीको कुकुर’, अँधेरोमा छट्पटाएका मानिसहरू लघुगीतिनाटक आदिमा अभिनय गरेकी छन् । उनले त्योभन्दा पहिले गाउँघरमा देखाइने नाटकहरू एवं भावनृत्य गरेकी थिइन् ।

जनगायिका दर्लामीका रातो सलाम, इन्कलाब, राप, एक धक्का, पारिजात आदि कृति प्रकाशित छन् । उनले मगर, नेवारी, तामाङ मैथिली, भोजपुरी लगायतका भाषामा गीत गाएकी छन् । चार सयभन्दा बढी गीतमा स्वर दिएकी उनले मगर चलचित्रका गीतहरूमा समेत आवाज भरेकी छन् । उनले नेपाल आदिवासी जनजाति, अन्तर्राष्ट्रिय महिला संगीत प्रतियोगिता, पार्टीका भ्रातृ संगठनद्वारा आयोजित विभिन्न कार्यक्रम र रेडियो नेपालद्वारा सम्मान तथा पुरस्कार प्राप्त गरेकी छन् ।   

000      

सौर्य अनलाइन बाट साभार



















No comments:

Post a Comment