Thursday, September 15, 2022

टुहुरेको स्मृति

 


काठमाडौं । जनवादी गायक जेबी टुहुरेको प्रथम वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइएको छ । जनसांस्कृतिक महासंघ नेपालले कोटेश्वरस्थित नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालयमा शुक्रबार गरेको प्रथम स्मृति दिवसमा जनवादी गायक टुहुरेका केही चर्चित गीत गाइएको थियो । गायक वीरप्रसाद भन्साली, डा. गोपाल ठाकुर, भीम कुमाखी, धनु ज्ञाङ्मी मगर, डम्बर रोकाय, सुशीलसिंह ठकुरी, गायिका प्रगति महरा, केशरी घर्ती मगर, शारदा लिम्बु लगायतका कलाकारले टुहुरेका कालजयी गीत प्रस्तुत गरेका थिए ।

सो अवसरमा डा. गोपाल ठाकुरले टुहुरेका जीवनी व्यक्तित्वका बारेमा चर्चा गरेका थिए । उनले नेपालको राजनीतिक परिवर्तनको आन्दोलनमा टुहुरे अविचलित ढंगले लागेको बताए । उनले भने, ‘निरन्तर जनताको पक्षमा गायनसँगै राजनीतिलाई अगाडि बढाउँदै टुहुरेले नेपालको परिवर्तनको आन्दोलनलाई विशिष्ट योगदान दिनुभएको छ ।’ सो कार्यक्रममा समालोचक ईश्वरचन्द्र ज्ञवालीले टुहुरेलाई आफू २०४४ सालमै भेटेको बताउँदै उनका गीत नेपाली जनताका लागि सुन्दर भविष्य निर्माण गर्न अभिप्रेरित गर्ने सिर्जना भएको बताए । उनले भने, ‘उहाँले जीवनलाई संघर्षका रुपमा पढेर आन्दोलनमा सरिक हुँदै जनता र राष्ट्रका पक्षमा आफूलाई समर्पण गर्नुभएको थियो । साथै उहाँका गीत गरिब, किसान, मजदूर तथा सीमान्तकृत समुदायका पक्षमा रहेका छन् ।’

यस्तै, सो अवसरमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले देशव्यापी रुपमा जेवी टुहुरेको स्मृति मनाएको बताउँदै सांस्कृतिक अभियानमार्फत जनतालाई परिवर्तनका पक्षमा जागृत गराउनु पर्ने बताए । उनले भने, ‘जनता जगाउने गीतमार्फत टुहुरेले नेपालको प्रगतिवादी आन्दोलनलाई सशक्त बनाउनु भएको छ । उहाँको त्यो विरासतलाई अझै प्रभावकारी रुपमा अगाडि बढाउन कलाकारले अभियान नै चलाउनु पर्दछ ।’ जनसांस्कृतिक महासंघ नेपालका केन्द्रीय अध्यक्ष मातृका पोखरेलले नेपाली समाज बदल्न टुहुरेले सांगीतिक अभियानमार्फत निकै काम गरेको सुनाए ।

उनले भने, ‘समाज बदल्न जेवी टुुहुरेले जेजति काम गर्नुभो त्यसले हामीलाई आन्दोलनमा ल्याउन महत्वपूर्ण भूमिका खेल्यो । उहाँको जीवन भनेकै आन्दोलनको जीवन हो ।’ उनले समाजमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्वलाई चीरस्थायी बनाइराख्न कार्यक्रम गरिएको बताए । महासंघका महासचिव सुर्वण हमालले नेपालको प्रगतिवादी सांस्कृतिक आन्दोलनमा टुहुरेको योगदान विशिष्ट रहेको बताए । जनवादी गायक टुहुरेको जन्म २००१ साल कार्तिक १ गते पिता कृष्णबहादुर खड्गी र आमा दानदेवी खड्गीको कोखबाट भएको थियो । उनको गत वर्ष निधन भएको थियो ।

सौर्य अनलाइन २०७९ भदौ १२ गते  

www.souryaonline.com













                   














No comments:

Post a Comment